• १३ असोज २०८१, आइतबार

जेठ १५ मै बजेट ल्याउन अधिवेशन अन्त्य र आह्वान हुन्छ : उपप्रधानमन्त्री खड्का

blog

उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का

काठमाडौँ, वैशाख ६ गते । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते बजेट ल्याउने गरी चालू संसद अधिवेशन अन्त्य र आह्वान हुने स्पष्ट गर्नुभएको छ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्नु हुँदै उपप्रधानमन्त्री खड्काले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताउनुभएको छ ।

मन्त्रालयमा पदवहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संसद् सञ्चालन नियमित अघि बढाउने र व्यवस्थित गर्ने सन्दर्भमा मन्त्रालयका तर्फबाट सभामुख र अध्यक्षलगायतसँग समन्वय गरी निर्वाह गर्नुपर्ने भूमिकालाई क्रियाशील तुल्याइने विश्वास दिलाउनुभयो ।

राससका अनुसार उपप्रधामन्त्री खड्काले भन्नुभयो, “संविधानले व्यवस्था गरेका मानवअधिकार र मौलिक अधिकारसँग जोडिएका कानुन निर्माण गर्ने प्रक्रियाअघि बढिरहेको छ, सङ्घीय ऐन बनाइसकेपछि त्यसमा आधारित भएर प्रदेशका कानुन निर्माण गरिनेछ ।”

उहाँले सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐन–कानुन निर्माणलाई प्राथमिकतामा राखेर छिटो पारित गर्न प्रयत्नशील हुने तथा संसदमा पु¥याउन तयार भएका कतिपय विधेयक सरोकारसँग समन्वयन गरी संसदमा पठाइने जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले छिटो सङ्घीय ऐन पारित गर्ने विषयमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र सामूहिक गतिशीलताका आधारमा कार्ययोजना बनाएर प्राथमिकता निर्धारण गरी काम गर्ने स्पष्ट गर्नुभयो ।

 रक्षामन्त्रीको जिम्मेवारीमा रहनुभएका खड्काले संवैधानिक परिषद्को आजको बैठकमा प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी कार्यसूची प्रवेश गरेको बताउनुभयो ।

परिषदका अध्यक्ष प्रधानमन्त्रीले प्रधानन्यायाधीशको नियुक्तिको आवश्यकता र औचित्यसम्बन्धी कार्यसूची प्रस्तुत गर्नुभएको जानकारी दिँदै उहाँले संवैधानिक परिषद् ऐन परिषद्का अरु सदस्यसँगको सल्लाह र सहमतिमा अघि बढाएर प्रधानन्यायाधीश नियुक्तिमा सर्वसम्मत् कायम गरिने विश्वास दिलाउनुभयो । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिशमा उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएपछि उहाँले आज मन्त्रालयमा पदबहाली गर्नुभएको हो ।