• ४ जेठ २०८१, शुक्रबार

दुर्घटनामा एकै परिवारका तीनको मृत्यु

blog

माईस्थान गौशाला सडकखण्डमा दुर्घटनाग्रस्त बस र मोटरसाइकल । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, बैशाख ६ गते । महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार अपराह्न भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्युभएको छ । मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उहाँकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको गौशाला प्रहरीले जनाएको छ । 

अमृत र अंशुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल तथा अञ्जुको ट्रमा सेन्टरमा मृत्यु भएको हो । शुभ स्वस्तिक अस्पतालका जनसम्पर्क अधिकृत दीपेन्द्र ढकालका अनुसार गम्भीर अवस्थाका उहाँहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । 

समसीबाट यात्रु बोकेर जनकपुरतर्फ जाँदैगरेको बा ३ ख २३९६ नम्बरको जय मातादी ट्राभल्सले विपरीत दिशातर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई जङ्गली क्षेत्रमा पर्ने रेल्वे पुलनजिकको मोडमा आज अपराह्न १ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा तीनै जना मोटरसाइकलमा सवार थिए । 

दुर्घटनाका कारण अझ खुल्न सकेको छैन । दुर्घटना गराउने बसलाई प्रहरीले इलाका प्रहरी गौशालाले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको  प्रहरी निरीक्षक मनोज यादवले बताउनुभयो ।