अमृतप्रसाद पौडेल
म्याग्दी, बैशाख ६ गते । हिमाली जिल्ला म्याग्दीको उत्तरी भेग अन्नपूर्ण गाउँपालिका –३ दानाका एकल महिलालाई गाउँपालिकाले साबुन तथा सरफ बनाउने तालिम दिन थालेको छ । अन्नपूर्ण गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार दाना क्षेत्रका एकल महिला तथा दलित महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका –३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।
वडा कार्यालयले छनौट गरेका २७ जना एकल तथा दलित महिलालाई तालिममा सहभागी गराइएको उहाँको भनाइ छ । पाँच दिनसम्म सञ्चालन हुने तालिम पश्चात् आत्मनिर्भर बनाउने अभियानलाई केही हदसम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक सबिना थापाले बताउनुभयो ।
सीप सिकेपछि परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उहाँको भनाइ छ । गमिसा पुर्जा र कविता क्षेत्रीले प्रशिक्षण दिइरहेको तालिम वैशाख ९ गतेसम्म सञ्चालन हुने वडा अध्यक्ष पुर्जाले बताउनुभयो ।