• १३ मंसिर २०८१, बिहिबार

गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा

blog

फाइल तस्बिर

काठमाडौँ,  वैशाख ६ गते । प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु गरिने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेकमा सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा सुरु हुन्छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको विश्वास गरिन्छ ।

जात्राका लागि गोकर्णेश्वर क्षेत्रलाई बेहुलीझैँ सिँगारिएको छ । जात्राको सबै तयारी पूरा भएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । जात्राका लागि विगतदेखि नै नगरपालिकाले पनि सहयोग गर्र्दै आएको उहाँले सुनाउनुभयो । 

जात्राका लागि वडा कार्यालयले वैशाख ६ देखि १० गतेसम्म कहाँ कहाँ रथ लैजाने र के के जात्रा कुन समयमा गर्ने भनी तालिका नै सार्वजनिक गरेको छ । यसबाट भक्तजनलाई सहज हुने विश्वास गरिएको छ ।

जात्राका क्रममा वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासूबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साबिकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताउनुभयो ।

“यस  दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा र भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ”, कान्तिभैरवको गुठियारसमेत रहेका उहाँले भन्नुभयो ।

राजा मानदेवले सुरुवात गरी हालसम्म निरन्तर चलेको ऐतिहासिक, साँस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा आज मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु हुन्छ । जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई सिँगारिएको तीनतले खटमा विराजमान गराइन्छ । तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ । परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घरआँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्दछन् ।

चतुर्दशीका दिन बिहान आज गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तीगणेशमा लगी राखेका छन् । गुप्तीगणेशलाई आज दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि गोकर्ण देशेको मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा घुमाइन्छ ।

भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन गुठियारले एक÷एक पाथी भातको देवता बनाउँछन् । पाक्ता पाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीयवासीले बताए  ।

उत्तरवाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथ बिसाएपछि भैरवको  प्रसाद लिन सहभागी बीच  तँछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।यो जात्रा नगरपालिका–२ र ४ का सम्पदा क्षेत्रमा घुमाइन्छ । पाँच दिनसम्म गोकर्णेश्वर क्षेत्रमा धुमधामका साथ कान्तिभैरव जात्रा मनाइन्छ । रासस