• ९ मंसिर २०८१, आइतबार

वृद्धाश्रममा मदर्स डे (एकाङ्की)

blog

समय : दिउँसो । स्थान : सहरदेखि टाढा एक कुनामा अवस्थित पुरानो वृद्धाश्रम । 

दृश्य : वृद्धाश्रमको भोजन कक्ष । कक्षमा काठको तीनवटा पुरानो टेबुललाई लहरै राखिएको छ । टेबुलको दुईतिर उत्तिकै लम्बाइको काठको बेन्च राखिएको छ । कक्षको सिलिङमा जस्ताको छानो छ । सिलिङमा  झुन्डिएका दुईवटा पुराना  पङ्खा मध्यम गतिमा घुमिरहेका छन् । बायाँतर्फ कुनामा पर्खालले बारेर भान्सा कोठा बनाइएको छ । हलबाट भान्साभित्रको गतिविधि सजिलै देख्न सकिन्छ । हलमा ठूलीदिदी, आइतेबूढा, नरमाया, कुलप्रसाद, भीमे माइला, सावित्री बज्यै, धनमाया, कान्छीबज्यै नामका वृद्धवृद्धा आआफ्नो थाल, गिलास लिएर आमनेसामने बसेका देखिन्छन् । सबैको नजर भान्साको हलतर्फ खुल्ने ढोकामा केन्द्रित छ ।

ठूलीदिदी :  (भोकाएको जस्तो भावभङ्गीमा) हन खाना अझै पाकेको छैन कि कसो ?

सावित्री बज्यै :  खै, बूढाबूढीलाई कुराएर के गरी बसेका हुन् कुन्नि ।

कान्छीबज्यै :   समय त भएन र खाना खाने ?

धनमाया :  यो नकचरी आएदेखि खाना कहिले समयमा पाक्दैन । जति बेला पनि हेर्नु मोबाइलमै झुन्डिएकी हुन्छे ।

भीमे माइला :  हिजो पनि दालमा नुन अच्चाकाली चर्काे थियो ।

कुलप्रसाद :  चामल पनि केलाउँदैनन् कि क्या हो । हिजो दाँतमा नराम्ररी ढुङ्गा लाग्यो ।

सावित्री बज्यै : आफ्नै घरकाले त टेरपुच्छर लाएनन्, यी परायाकाको के कुरा । (भान्से महिलापुरुषले ठूलो डेक्चीमा भात, बाल्टिनमा दाल र बाटामा तरकारी लिएर आउँछन् अनि पालैपालो सबैको थाल थालमा पस्कँदै जान्छन् । थालको भात मिच्दै स्वयंसित– आज पनि मोटो चामल पकाएर मरिछे । आफ्नो त यो मोटो चामल घाँटीबाट पटक्कै जाँदैन ।

भान्से महिला :  (वृद्धाको कुरा सुनेपछि फनक्क फर्केर हेर्दै) भाग्यले पाए भन्नु नि । यो पनि मनकारीहरूको दया मायाले पाक्दैछ ।

भीमे माइला :  (एक दुई गाँस मुखमा हाल्न साथै) आजचाहिँ फेरि तरकारी पिरो बनाए छ । कहिले नुन बढी, कहिले खुर्सानी, यस्तो खाना खाएर कतिन्जेल बाँचिएला खै ।

कुलप्रसाद :  आफूलाई त डाक्टरले नुन एकदमै कम खानु भन्नु भा’छ । भनौँ रिसाइहाल्छन् ।

भान्से पुरुष :  (धमाधम खाना पस्कँदै) कति किचकिच गर्छन् यी सुड्डासुड्डीहरू ! कहिले चामल मोटो भयो भन्छन्, कहिले दालमा नुन बढी भयो भन्छन्, कहिले भातमा ढुङ्गा प¥यो भन्छन् । आश्रममा त यति किचकिच गर्नेहरूले घरका छोराबुहारीलाई कति किचकिच गरे होलान् ।

भान्से महिला : (थाल थालमा तरकारी थपिदिँदै) त्यही भएर त आश्रममा ल्याएर थन्क्याइदिएका होलान् नि ।

आइतेबूढा : ए बाबु, कहिलेकाहीँ त अन्डाकरी बनाए हुन्न र ? कति खानु केराउ आलुको तरकारी ? मुख फेर्न पाए हुन्थ्यो ।

भान्से पुरुष :  बा, मेनेजरलाई भन्नुप¥यो । हामी त जे ल्याएर दिन्छ, त्यही पकाउने हो । ल, भात खाएपछि सक्ने जत्तिले आआफ्नो थाल गिलास आफैँ माझ्ने है ।

सावित्री बज्यै : (नजिकै भात खाएर हात चाट्दै गरेका श्रीमानतिर हेरेर) सुन्नु भो त उर्दी ? बलबैँस हुन्जेल ढलेको गिलाससमेत उठाउन परेन, अहिले यो उमेरमा आएर जुठो थाल गिलास माझ्न प¥या छ ।

कुलप्रसाद : (टिठलाग्दो नजरले वृद्धातिर हेर्दै) के गर्छेस् त ? छोरा मोराले गु खाइहाले । ‘मेरो बाबु, मेरो राजा’ भनेर सानोमा खुब पुल्पुलाउँथिस् नि, त्यसैको फल खाँदैछेस् अहिले । ‘बाबू भनेको छोरा र जुत्ता लगाएको गोडा’ काम छैन भन्थे हजुरबा, ठीकै त भनेका रहेछन् नि । सहरकै नामी र महँगो स्कुलमा पढायौ । रहर गरेजति सबैथोक पु¥याइदियौ, विदेश पढ्ने भन्यो पढायौ । आखिर खै त बाआमाको दुःख देखेको ? बिहे गरेपछि स्वास्नीको कुरा सुनेर बस्न खान दिएन । छोरो गतिलो भएको भए यो उमेरमा यसरी आश्रमको बास हुने नै थिएन ।

सावित्री बज्यै : छोरालाई के दोष दिनु, त्यही बुुहारी भन्ने उस्ती नि । कुनचाहिँ टपरेकी छोरी परिछे कुन्नि । दरबार जत्रो घर छिरेपछि त महारानी भइहाली नि । सम्पत्ति नदेखेकीले देखेपछि भुइँ न भाँडामा हुन्छ भन्थे हो रहेछ ।

भान्से पुरुष :  ए बाआमा, कुरा मात्र गर्ने कि हसुर्ने पनि ? चिसो भयो भन्न् पाइँदैन है । त्यो ताइ न तुइको गफ त खाई सकेपछि गरे पनि हुन्छ नि ।

धनमाया :  अर्काकी छोरीलाई यो त्यो भन्नुभन्दा नि आफ्नो छोरा गतिलो हुनुप¥यो । हाम्रो त्यस्तै, यो गर्छु त्यो गर्छु भनेर लोग्ने स्वास्नीले फुरुक्क पारे । होला नि त भनेर कागजमा ल्याप्चे लगाइदिएँ । पछि बुझ्दा घर जग्गा बैङ्कमा धितो राखेर ऋण लिनलाई पो रहिछ । ऋण तिर्न नसकेपछि बैङ्कले घर लिलामीमा चढायो । त्यसपछि मलाई आश्रममा छाडेर विदेश गए कि कता गए अझै अत्तोपत्तो छैन । (यतिन्जेल धेरैजसोले खाना खाइसकेका छन् । कोही जुठो थाल गिलास बोकेर धारातिर गइरहेछ । आश्रमको मेनेजरको प्रवेश ।)

मेनेजर : (अचम्म मान्दै वृद्धवृद्धातिर हेरेर) बाआमाहरू जुठो थाल बोकेर कता हिँड्नु भा’को ?

धनमाया :   भात खाएपछि थाल गिलास माझ्नु परेन त मेनेजर बाबु ?

मेनेजर :  कसले भन्यो थाल गिलास माझ्नु भनेर ? (सबै टक्क अडिन्छन् र एकार्कालाई हेर्छन् ।) पर्दैन । (भान्सातिर फर्केर) एई धुर्वे, खुरुक्क यो जुठो भाँडा उठाएर टेबल सफा गरिहाल् त । आज आश्रममा केही दाताहरू आउने कुरा छ । खाना खाइसक्नु भएको हो भने बाआमाहरू केही क्षण यतै हलैमा बस्नुहोला । दाताहरूले हजुरहरूको हालखबर सोध्ने छन्, गाह्रो अप्ठ्यारो बुझ्ने छन् । मनमा लागेको कुरा निर्धक्कसँग राख्नु होला । ल, म दाताहरू कहाँ आइपुगेछन् बुझ्छु है । (खल्तीबाट मोबाइल झिकेर नम्बर थिच्दै हलबाट प्रस्थान गर्छन् । दाता आउने समाचारले वृद्धवृद्धा उत्साहित देखिन्छन् । दातासित सहयोग माग्ने बारेमा छलफल गर्न स्वस्फूर्त रूपमा गोलबद्ध हुन्छन् ।)

आइतेबूढा :  साथी हो, दिनदिनै गर्मी चढ्दो छ । पङ्खा पुरानो भएकाले राम्ररी हावा फाल्दैन । दातासित पङ्खाको माग गर्नुपर्छ है ।

सावित्री बज्यै :  आ...माग्नै परेपछि जाबो पङ्खा के माग्नु ? एसी जोडी माग्नु पर्छ ।

कुलप्रसाद  :  (पत्नीको प्रस्तावको समर्थन गर्दै) हो, हो विश्राम कोठामा एसी भए सबैलाई चिसो खाएर बस्न पाइन्छ ।

आइतेबूढा :  एसी किन्ने पैसाले कोठैपिच्छे पङ्खा आउँछ । औँला दिँदा डुडुलै निल्ने कुरा नगरौँ । यसै पनि दमका रोगीहरूलाई एसीमा बस्न परहेज छ ।

कुलप्रसाद :  ए आइतेबूढा, तिम्रो के जान्छ हँ ? हो न हो, तिम्रै सम्पत्ति काटेर किन्न लागेको जस्तो पो गर्छाै त ?

नरमाया :  आश्रमको भवन पुरानो र जीर्ण भइसकेकोतर्फ कसैको ध्यान छैन । सानै भूकम्पले पनि यो भवन भत्किन बेर छैन । यसैले नयाँ भवनको माग गर्नुपर्छ ।

(वृद्धवृद्धा भूकम्पको नाम सुनेर डराएजस्तो केहीक्षण मौन हुन्छन् ।)

कान्छीबज्यै :  (मौनता भङ्ग गर्दै) एसीसँगै आश्रममा वाइफाई जडानको पनि जोडदार माग गर्नु पर्छ है । देश विदेशमा केके भइरहेको छ जान्न सुन्न पाइन्छ । यसै पनि संसदीय चुनाव नजिकिँदैछ, कोको कहाँबाट उठे हेर्न पाइन्छ । कसले जिते कसले हारे सुन्न पाइन्छ ।

कुलप्रसाद :  हामी वृद्धाश्रममा बस्नेलाई जो उठे पनि, जसले जिते पनि के फरक पर्छ र ?

सावित्री बज्यै :  त्यही त । सरकारले गति लाग्दो नियम कानुन बनाइदिएको भए बुढेसकालमा यसरी आश्रमको बास हुन्थ्यो र !

भान्से पुरुष :  ए बज्यै, वृद्ध भत्ता त थापेकै हौली त ।

सावित्री बज्यै : हात्तीको मुखमा जिरा । त्यति जाबो पैसा त हामी पण्डितलाई महिनैपिच्छे दक्षिणा दिने गरेका थियौँ । हामीलाई त्यो वृद्धभत्ता यता टाल्नु न उता ।

भान्से पुरुष :  (भात खाको टेबल सफा गर्दै) भत्ताको पैसाले एक सिलिन्डर ग्यास, एक थान चुल्हो र एक बोरा जिरा मसिनो चामल ल्याउने र सुड्डोसुड्डी कोठैमा पकाएर खाने नि । किन खानु प¥यो, नरुच्ने मोटा चामलको भात । (सबै जना हाँस्छन् ।)

धनमाया :  आफू त गोँडाले गर्दा त्यति टाढा हिँडेर जान सकिँदैन । नथापेको तीन महिना हुन आँट्यो । बूढाबूढीलाई त थलोथलोमै  दिन आए हुन्थ्यो नि । आशीर्वाद त पाउँथ्यो ।

मेनेजर : (हलमा प्रवेश गर्दै) मैले वडाध्यक्षसित कुरा गरेको छु आमा । विचार गर्ने भनेको छ । (घडी हेर्दै स्वयंसित) कहाँ आइपुगे दाताहरू ? फोन पनि उठ्दैन । (फेरि हलबाट तुरुन्त बाहिरिन्छ ।)

ठूलीदिदी : सबैको कथा व्यथा उस्तै रहेछ । कर्मको फल सम्झेर चित्त बुझाउनुबाहेक अरू केही गर्न सकिँदैन ।

(यति नै बेला सुकिलो कपडा लाएकी यस्तै ३५–४० की महिला १२ वर्ष जतिको छोरो र दस वर्षकी छोरीसहित आश्रमको भोजन कक्ष (हल)मा प्रवेश गर्छन् । सबैको ध्यान महिलामाथि केन्द्रित हुन्छ । यतिकैमा मेनेजर पनि हतारहतार हलमा आउँछन् र महिला नजिक उभिन्छन् ।

मेनेजर : नरमाया सिग्देलनी आमा कता हुनुहुन्छ ? (हुलतिर हेर्दै)

ठूलीदिदी :  भर्खर यतै थिइन्, कता गइन् ? (चारैतिर हेर्दै ।)

सावित्रीबज्यै :  नरमाया दिदी नाति–नातिनी र बुहारीलाई सपनामा देखेँ भन्दै थिई । (नेपथ्यतिर हेरेर) ऊ आइपुगी ।

मेनजर : आमा, हजुरकी बुहारी, नातिनातिनी हजुरलाई लिन आएका छन् ।  बुहारीचाहिँले नरमायालाई देख्न साथै एकाएक ग्वाम्म अँगालो हाल्छिन् र सुकसुकाउन थाल्छे । नातिनातिनीले पनि पालैपालो नरमायालाई मायाले अँगालो हाल्छन् र गोडा ढोग्छन् । अब हजुरको आश्रमको बसाइसकियो । अब तपाईं बुहारीसित आफ्नो घर फर्कनु होस् । अँ दिज्यु, बाआमाहरू यी वृद्धालाई कहाँ किन लग्न आँटे भन्ठानेका होलान् । तपाईं आफैँ भनिदिनोस् त नरमाया आमाको कथा ।

सुप्रभा : (आँखाको आँसु पुछ्दै) म सुप्रभा भण्डारी ! यिनी मेरी सासूआमा । यी दुई मेरा छोराछोरी । श्रीमान्को सडक दुर्घटनामा मृत्यु भएपछि म एक्ली भएँ । ससाना छोराछोरीको पालनपोषणदेखि शिक्षादीक्षाको सबै जिम्मेवारी म एक्ली महिलाको काँधमा आयो । एउटा पुरानो घरबाहेक सम्पत्तिको नाममा केही थिएन । सानोतिनो व्यापार व्यवसाय गरेर निर्वाह गर्ने आँट गरे तर सकिनँ । यसैले मैले केही वर्ष विदेश काम गर्न जाने निर्णय गरेँ । सासूआमा बेवारिसे हुने हुँदा मैले (इङ्गित गर्दै) उहाँ मेनेजर भाइसित सल्लाह गरेँ । यिनले पनि आश्रममा छोडी दिनु होस् म हेरचाह गरिदिन्छु भनेपछि सासूआमालाई आश्रममा र छोराछोरीलाई मामाघरमा जिम्मा लगाएर म इजरायल गएँ । आज म पाँच वर्षपछि इजरायलबाट घर फर्केकी छु । मैले सासूआमालाई हिँड्ने बेलामा फर्केपछि लिन आउँछु भनेर वचन दिएकी थिए र लिन आएकी । संयोगवश ! आज ‘विश्व मदर्स डे’ पनि परेकाले सिधै एयरपोर्टबाट आमालाई लिन आश्रम आएकी छु । यहाँ एकैदिन यति धेरै आमाबुबाहरूको दर्शन गर्न पाउँदा मैले आफूलाई साह्रै भाग्यमानी ठानेकी छु । यसैले यो खुसीको अवसरमा मैले हजुरहरूको मुख मीठो पार्न चाहेकी छु, नाइ नभनिदिनु होला । (यति भनी उनले हातको  मिठाईको पोका खोल्छिन् र सबैलाई आलोपालो खुवाउँछिन् । सबैले मीठो मानी खान्छन् र पर्सबाट एक लाख रुपियाँको चेक झिकेर मेनेजरतिर बढाउँदै) मेनेजर भाइ, यो मेरो तर्फबाट आश्रमलाई सानो सहयोग स्वीकार गर्नु होला ।

मेनेजर :  (हर्षित मुद्रामा चेक थापेर सबैलाई देखाउँदै) दिज्युले हाम्रो आश्रमलाई एक लाख रुपियाँको चेक प्रदान गर्नु भई ठूलो सहयोग गर्नुभएको छ । सुप्रभा दिदीप्रति आश्रम परिवार हार्दिक आभार व्यक्त गर्छ । (सबैले एकसाथ ताली बजाउँछन् ।)

सुप्रभा :  अब लाग्ने हैन त ममी ?

नरमाया : (मुसुक्क हाँस्दै) बुहारी, कहाँ जाने भन्या ?

सुप्रभा :  आफ्नो घर जाने नि ।

नरमाया :  (ज्यादै भावुक भएर) मलाई यहाँबाट जान मिल्दैन बुहारी । मैले यो आश्रममा पाँच साल बिताइसकेकी छु । मलाई यो पीपलबोटमा बास बस्न आउने काग, बकुल्लाहरूले समेत चिनिसकेका छन् । यहाँको बोटबिरुवाले समेत मेरो स्पर्श महसुस गर्न थालेका छन् । (वृद्धाहरूलाई पालैसँग अँगालो हाल्दै) मैले यति धेरै साथी सङ्गत पाएकी छु । मैले यिनीहरूबाट पारिवारिक माया पाएको छु । छोराजस्तो माया गर्ने मेनेजर बाबु पाएको छु । म यहीँ ठीक छु बुहारी । बरु यसरी नै चाडबाडमा भेट्न आउनु । मलाई खुसी लाग्नेछ । (नातिनातिनीलाई पालैपालो मुसार्दै) ज्ञानी हुनु, धेरै पढ्नु, ममीको दुःखसुखमा साथ दिनु । मेरो आशीर्वाद तिमीहरूसँग सधैँ रहनेछ । बुहारी ! त्यति टाढाबाट आएकी तिमी थाकेकी पनि हौली । बरु घर गएर आराम गर । म यहाँ ठीक छु । (सुनेर बसेका वृद्धवृद्धाहरू दङ्ग पर्छन् । मुखामुख गर्छन् ।)

सुप्रभा :  ल, के भन्नुभा’को ? म झन् ममीलाई लिन आएकी ।

नरमाया :  के भो त ? भेटघाट भइहाल्यो । बेला बेलामा आउँदा भइहाल्यो नि । हैन त मेनेजर बाबु ?

मेनेजर : हजुरको इच्छा । हजुरलाई जतिन्जेल बस्न मन लाग्छ बस्नुभए हुन्छ ।

(अँध्यारो अनुहार पारेर सुप्रभा र उनका छोराछोरीले पालैपालो नरमायाको गोडा ढोक्छन् र सबैसित बिदा लिन्छन् र प्रस्थान गर्छन् ।)

सावित्री बज्यै :  नरमाया, बुहारी लिन आउँदा किन नगएकी ?

नरमाया :  तिमीहरूको मायाले । आज म बुहारीसित घर गएकी भए तिमीहरूलाई पक्कै नराम्रो लाग्ने थियो । तिमीहरूले आफूलाई धिक्कार्ने थियौ । यसैले म चाहान्न मेरो कारण तिमीहरूको मन दुखोस् । खाटो बसिसकेको मनको घाउ बल्झियोस् । (यत्तिकैमा एक हुल युवायुवतीहरू होहल्ला गर्दै आश्रम परिसरमा प्रवेश गर्छन् ।  फलफूल, मिठाई बोकेका सबै जना हलमा प्रवेश गरेपछि एउटी युवतीले ब्यागबाट ‘ह्याप्पी मदर्स डे’ लेखेको ब्यानर झिक्छिन् । उनीहरूले मेनेजरसित अनुमति लिएर वृद्धाहरूलाई फलफूल मिठाई वितरण गर्छन् । केही क्षण मोबाइलमा गीत बजाएर आफूहरू सँगसँगै वृद्धवृद्धाहरूलाई पनि नचाउँदै रमाइलो गर्छन्  र ब्यानरलाई पृष्ठभूमि बनाएर केही ग्रुप र अनगन्ती सेल्फी फोटो लिन्छन् र अपराह्नतिर आश्रमबाट प्रस्थान गर्छन् । अहिले भने वृद्धवृद्धाहरूलाई सपना जस्तो लागेको छ । धेरै समयपछि उनीहरू खुलेर हाँसेका छन् रमाएका छन् । यत्तिकैमा मेनेजरको मोबाइलको घण्टी बज्छ । कसैले फोनमार्फत दाताहरू समयाभवका कारण आश्रम आउन नसक्ने बताउँदा मेनेजर एकाएक खिन्न हुन्छन् ।)

मेनेजर :  बाआमाहरू अब तपाईंहरू आआफ्नो कोठामा गएर आराम गर्नु होला, समय अभावका कारण दाताहरू नआउने भए । (मेनेजरको कुरा सुनेर वृद्धवृद्धाहरू आआफ्नो कोठातिर लाग्छन् ।)

कुलप्रसाद :(जाँदाजाँदै) कसले भन्यो दाता आएन भनेर ? त्यति ठूलो रकम चन्दा दिएर जाने ती नरमायाकी बुहारी दाताभन्दा कम थिइन् र ?

सावित्री बज्यै : परै नरमायाकी बुहारी कति मनकारी ! कति संस्कारी !

ट : कति मिजासिली !

क :  हो नि, हेर त सासूलाई जन्म दिने आमालाई भन्दा बढी माया गरेकी । सबैले ती सुप्रभा नानीजस्तै बुहारी भेट्टाउने हो भने वृद्धाश्रमको आवश्यक नै पर्ने थिएन । (अहिले भने वृद्धवृद्धा आआफ्नो कोठातिर प्रस्थान गरिसकाले वृद्धाश्रम परिसरमा एकाएक सन्नाटा छाएको छ ।)