• ११ मंसिर २०८१, मङ्गलबार

नागरिकमैत्री राष्ट्रप्रमुख

blog

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ, त्यो म देखाउन चाहन्छु,” गत चैत १३ गते राष्ट्रपति पदको उम्मेदवारी दर्ता गरेपछि रामचन्द्र पौडेलले भन्नुभएको थियो, “राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीचको फरक देखाउने मेरो ध्येय हुनेछ ।” आफ्नो त्यही वाचा पूरा गर्न उहाँंको पहिलो ध्यान गणतन्त्रमा पनि प्रयोग हुँदै आएको कुलीन र निरङ्कुश शासकको तामझाम र शब्दावली ‘सवारी’ लाई सरल र जनतामैत्री बनाएर जनतामा बढ्दो निराशा हटाउनमा केन्द्रित भयो ।

 २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि निरङ्कुश पञ्चायती व्यवस्था समाप्त भई मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो । त्यसबाट नागरिकका राजनीतिक अधिकार स्थापित भए । ३० वर्षको पञ्चायतमा नभएका कैयौँ विकास निर्माण र समाज आधुनिकीकरणका काम ८–१० वर्षमै नभएका होइनन् तर शासन प्रणाली पारदर्शी र जवाफदेही नहुँदा सेवाप्रवाह निकै कमजोर भयो । भ्रष्टाचारले विकास निर्माण र सेवाप्रवाह प्रभावित भयो । निरङ्कुशतन्त्रका कुलीन र सामन्ती सोचमा आमूल परिवर्तन आएर प्रजातान्त्रिक संस्कार हुर्कन सकेन । जनताको ठूलो बलिदानबाट संवैधानिक बनाइएका राजाको भूमिका पनि जनताले चाहेजस्तो भएन । उनीहरूमा कुनै न कुनै रूपमा शक्तिको अभ्यास गर्ने र आफूलाई जनता र संविधानभन्दा धेरैमाथि र अलग्गै राख्दा मात्र राष्ट्रप्रमुखको हैसियत कायम हुन्छ भन्ने पुरानै निरङ्कुश सोच रह्यो । 

शक्ति आर्जन गर्न उनीहरू विभिन्न प्रकारका तानाबाना र षड्यन्त्र बुन्न थाले । अन्तिम राजाबाट त जनताका अधिकार नै अपहरित गर्ने काम भयो । यस प्रकारले संविधानमा सार्वभौमसत्ता नेपाली जनतामा निहित हुने व्यवस्था भए पनि व्यवाहारिक रूपमा त्यसको अनुभूति नहुँदा शासन प्रणाली जनताप्रति उत्तरदायी हुनुको साटो कहीँं न कहीँ दरबारप्रति उत्तरदायी हुन थालेको अनुभूति भयो । यी सबै कारणबाट हो, जनताले प्रजातन्त्रको प्रतिफल आफ्नो घरदैलोमा आइपुगेको महसुस गर्न सकेनन् । त्यही भएर जनतामा निराशा बढ्यो । यी सबै कारण जनताले कुनै खास परिवारबाट मात्रै राष्ट्रप्रमुख हुने व्यवस्था रुचाएनन् र ठूलो बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । जनतामा देखिएको निराशाप्रति सधँै चिन्तित हँुदै यो हटाउन न्यायपूर्ण समाज स्थापनाका लागि अवसरको समान वितरण, निमुखालाई न्याय र विपन्नलाई आयसहितको कार्यक्रम तथा राजनीतिमा आदर्श र नैतिक मूल्यको पक्षमा आवाज उठाउने व्यक्तित्व हुनुहुन्छ रामचन्द्र पौडेल । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अन्तसंस्करणबाटै आत्मसात् गरेर त्यसलाई सही अर्थमा व्यवहारमा उतार्नुपर्छ भन्ने मान्यता उहाँका हरेक अभिव्यक्ति र सम्बोधनमा पाइन्थ्यो ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुसारको व्यवहार भएन कि भन्नेमा उहाँको चिन्ता थियो । नेताबाट सत्ताबाहिर रहँदा एउटा र सत्तामा पुगेपछि बेग्लै व्यवहार गरेको भन्ने जनगुनासो निकै आएपछि यसतर्फ सचेत हुनुहुन्थ्यो । उहाँ जनतालाई  सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फरक महसुस गराउने कामको सुरुवात आफ्नै भूमिकाबाटै गर्ने काममा लाग्नुभएको उहाँका पछिल्ला कतिपय कदमबाट प्रमाणित भएको छ । पौडेलले आफ्ना वाचालाई तत्कालै सम्बोधन गर्न चाहेको देखिन्छ । 

त्यही भएर राष्ट्रपतिमा निर्वाचित भएलगत्तै विशिष्टको सुरक्षासम्बन्धी अधिकारीहरूलाई बोलाएर राष्ट्रपतिको आवागमनमा जनतालाई घण्टाँै सास्ती दिएर बाटो खाली गराउने र सडकमा जाम हुने काम बन्द गर्न निर्देशन दिनुभयो । उहाँ सुरक्षासम्बन्धी अधिकारीलाई यस विषयमा जनतालाई फरक खालको अनुभूति गराउने गरी काम गर्न निर्देशन दिनुभयो । त्यसपछि भएका राष्ट्रपतिका सबै आवागमन सरल र सहज भएका छन् र जनताले सास्ती खेप्नु परेको छैन । आवागमन कति सामान्य भयो भने वसन्तपुरस्थित कुमारी घरमा जीवित देवी कुमारीको दर्शन गर्न जाँदा होस् या घोडेजात्राको औपचारिक कार्यक्रममा पुग्दासमेत किन नहोस् उहाँ पुगेपछि मात्र सर्वसाधारणलाई जानकारी भयो । सोहीअनुसार हाल औपचारिक र अन्य कार्यक्रममा राष्ट्रपतिको आवागमन हुँदा सडक जाम रोकिएको छ । 

राष्ट्रपतिलाई  सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजाहरूका लागि प्रयोग गरिने शब्दावली पनि चित्त बुझेको रहेनछ । त्यही भएर उहाँले भाषाविद्सँग ‘सवारी’को विकल्पमा शब्दावलीका लागि परामर्श गर्नुभयो । उहाँहरूको सुझावअनुसार गोरखामा आयोजित एउटा कार्यक्रममा सम्बोधन गर्दै पौडेलले सवारीको सट्टा ‘आवागमन’ शब्द प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । झट्ट हेर्दा शब्दावली परिवर्तन ठूलो विषय होइन भन्ने कतिपयलाई लाग्न सक्छ तर यसले राष्ट्रपति पौडेलको लोकतान्त्रिक गणतन्त्र र जनताले बनाएको वर्तमान संविधानप्रतिको स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ । उहाँले निर्वाचित भएपछिका प्रायः सम्बोधनमा संविधानको पालना, संरक्षण र त्यसअनुसारको राष्ट्रपतिको संवैधानिक भूमिकाका बारेमा स्पष्ट दृष्टिकोणसहितको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

चैत ४ गते प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यसँग शीतल निवासमा भएको भेटघाट एवं चियापानमा उहाँले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको थियो । साथै नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने उल्लेख गर्नुभएको थियो । यी अभिव्यक्ति त्यही प्रतिबद्धताको परिणाम हुन् । 

सक्रिय तथा सत्ता राजनीतिमा रहँदा पनि सिद्धान्तप्रति निष्ठा, आस्थामा अडिग नेताका रूपमा आफ्नो परिचय बनाउनुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्टै आफ्नो राजनीतिक आस्थाको केन्द्र बीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य नेताप्रति सम्मान प्रकट गर्नुभयो । नेपाली कांग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको आदर्श जीवनशैलीलाई अनुकरण गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने पौडेल राष्ट्रपति भएपछि बाँडेगाउँस्थित आश्रम पुग्नुभएको थियो । नेपालमा भएका हरेक परिवर्तनमा लोकतान्त्रिक शक्ति र वाम शक्तिको योगदान छ । लोकतन्त्रका लागि समर्पित सबै नेताप्रति सम्मान प्रकट गर्नुपर्ने धारणा राख्नुहुने पौडेल राष्ट्रपति भएपछि पनि यो व्यवहारमा कुनै परिवर्तन नहोस् भन्नेमा सचेत देखिनुहुन्छ । लोकतन्त्र, संविधानको रक्षा र संसद्को पूर्ण कार्यकालका पक्षधर शक्तिको गठबन्धनका सूत्रधार पौडेल त्यही भएर होला शायद राष्ट्रपति भएपछि प्रजातान्त्रिक शक्ति र वाम शक्तिबीचको सहकार्यका पक्षपाती नेता कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठप्रति सम्मान प्रकट गर्न कीर्तिपुरस्थित चम्पादेवी परिसरको पुष्पलाल स्मृति प्रतिष्ठान पुग्नुभयो ।

 सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राष्ट्रप्रमुख कुलीन तथा वंशीय परम्पराबाट हुने राष्ट्रप्रमुखभन्दा भिन्न हुनुपर्छ भन्ने जनताको चाहना पूरा गर्न चालिएका राष्ट्रपति पौडेलका सुरुवाती कदम हुन् । राष्ट्रपति संवैधानिक मर्यादामा बसेर आफ्नो क्रियाकलाप सञ्चालन गरुन् भन्ने आमजनताको भावनालाई आत्मासात् गरेर अघि बढ्न धेरै चुनौती पनि छन् । ती चुनौती सामना गरेर अघि बढ्न सबैको साथ, सहयोग अनिवार्य हुन्छ । राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने प्रण गर्नुभएका राष्ट्रपति पौडेलका सुरुवाती कदम आशा लाग्दा देखिएकाले ती चुनौतीहरू हट्दै जालान भनेर विश्वास गर्ने आधार तयार भएको छ । राष्ट्रपति पनि मानिस हुन् भगवान् होइनन् उनीहरूका पनि कमीकमजोरी पक्कै हुन सक्छन् । तर सानातिना कमजोरीलाई देखाएर लोकतान्त्रिक मूल्य मान्यतासहितका कामलाई ओझेलमा पार्न थालियो भने असल काम गर्न चाहने भावी पुस्ता निरुत्साहित हुनेछन् भन्नेमा हाम्रो गम्भीर ध्यान जरुरी छ । ‘नेपालमा असल काम गरेर के गर्नु, खराब गर्नेकै बोलवाला छ’ भन्ने हाम्रो समाजमा स्थापित हुने लागेको निराशाजनक युक्तिलाई हामी सबै मिलेर चिर्न सके मात्र नयाँ आशाको सञ्चार गर्न सकिन्छ । 

लेखक राष्ट्रपतिका प्रेस सल्लाहकार हुनुहुन्छ ।    

Author

किरण पोखरेल