• ११ पुस २०८१, बिहिबार

मार्क्सवाद र सिनेमा

blog

कार्ल मार्क्सको चिन्तनले प्रभाव नपारेको क्षेत्र कमै होला । मार्क्सवादबाट प्रभावित साहित्य र चित्रकला हाम्रासामु धेरै छन् । चलचित्र जगत् पनि माक्र्सवादी चिन्तन या समाजवादी चिन्तनबाट अछुतो रहेको देखिन्न । सन् १९२० को दशकदेखि नै चलचित्रमा हामी कार्ल माक्र्सको प्रभाव देख्न सक्छौँ । लेनिनको नेतृत्वमा रुसमा मार्क्सवादी क्रान्तिले सफलता पाएपछि युरोपबाटै माक्र्स प्रभावित चलचित्रहरू उत्पादन हुन थालेको देखिन्छ । मार्क्सवादप्रति प्रतिबद्ध रहेर बनेका चलचित्र ज्यादै न्यून बनेको भए पनि घोर पुँजीवादी राज्यसत्ताका विसङ्गति र त्यसको विरोधमा चलचित्रहरू अलि बढी बनेको देखिन्छ । यस प्रकारका चलचित्रहरू युरोप र अमेरिकामा नै बढी बनेको देखिएको छ ।

चलचित्र कला केवल मनोरञ्जनमा सीमित नभएर समाजवादी चिन्तनले ओतप्रोत भएर जनतासामु देखा परिरहेका छन् ।

पुँजीवादको चरम बिन्दुको कल्पना गर्दै सर्वप्रथम निर्देशक फ्रिट्ज ल्याङले आफ्नी श्रीमतीद्वारा लिखित उपन्यासमा आधारित चलचित्र ‘मेट्रोपोलिस’ खिचेका थिए । माक्र्सवादी दर्शनलाई आत्मसात् गर्दै मेट्रोपोलिसले पुँजीवादी सभ्यताले अन्तिम उचाइ छोएको समयमा संसारमा एक जना मालिक र बाँकी सबै मानव दासमा परिणत हुन जाने कुराको चित्रण गरेको छ । उद्योगका साथै विज्ञानको सहारामा प्रविधिले चरम विकसित स्वरूप हासिल गर्ने कुराको सङ्केत आज नै हामीले देख्न थालिसकेका छौँ । चलचित्रमा जिउँदो मानिसझैँ हुबहु देखिने र मानिसले जस्तै शरीर चलाउने रोबोट देखाइएको छ । सन् २०१४ मा बनेको चलचित्र एक्स माकिनामा पनि यस खाले रोबोट देख्न सकिन्छ । यस्ता रोबोटको उत्पादनमा हाल वैज्ञानिकहरू घुँडा धसेर लागेका छन् । केही त प्रयोगमा पनि आएका छन् । मेट्रोपोलिसमा रोबोट देखाइए पनि मानिसले नै काम गरिरहेको देखाइएको छ । मेसिनको रफ्तारमा मानिसले काम गरेको दयालाग्दो अवस्थाबाट प्रभावित भएर चार्ली च्याप्लिनले मोडर्न टाइम्समा पनि देखाएका छन् । तर बिस्तारै मानव श्रमिकहरू हराएर रोबोट श्रमिकहरूको उत्पादन हुने सङ्केत देखिएको छ । मेट्रोपोलिसले सर्वहाराहरूको बासस्थान जमिनमुनि देखाएको छ भने मालिकहरूको बास जमिनमाथि र अझ आकाशमा देखाएको छ । यस चलचित्रले सन् ३०५० पश्चातको समयको कल्पना गरेको जस्तो देखिन्छ । चलचित्रमा जुन खाले सहरको चित्रण गरिएको छ त्यो बीसौँ शताब्दीको सुरुमा अमेरिकामा विकसित सहरबाट प्रभावित भएको कुरा निर्देशकले भनेका छन् । आधुनिक पुँजीवादी सभ्यताको सुरुवात अमेरिकाबाट नै भएको हो । १९२० को दशकसम्म त युरोपमा राजासहितको सामन्ती सभ्यता यथावत थियो । मेट्रोपोलिसले भविष्यका दास र मालिकको चित्रण गरे पनि, दासहरू एकजुट भएको र दासहरूले विद्रोह गरेको देखाए पनि अन्तिममा एक जना मालिकको स्थायित्वलाई निरन्तरता दिने कुराको वकालत गर्छ । मालिकलाई भ्रातृत्व प्रेमले युक्त महान् आदर्शले ओतप्रोत देखाउँदै दुवैको मेलमिलाप गराई चलचित्रको अन्त्य हुन्छ । सर्वहारा वर्गकी एक सुन्दरीलाई मालिकको महान् छोराले बिहे गर्छ । 

फ्रिट्ज ल्याङपश्चात सन् १९२५ मा रुसी निर्देशक सेर्गेइ आइजेन्स्टाइनले तत्कालीन यथार्थका आधारमा तीन चलचित्रहरू स्ट्राइक (१९२५), ब्याटलसिप पोटेम्किन (१९२५) र अक्टोबर १९२७ बनाए । यी तीन चलचित्रहरू भने माक्र्सवादी चलचित्र इतिहासमा आजसम्मकै मानक चलचित्रका रूपमा देखा परेका छन् । मेट्रोपोलिसको दिग्भ्रमित र काल्पनिकताबाट पर उभिएर आइजेन्सटाइनले रुसमा तत्कालीन समयमा लेनिनद्वारा प्रभावित र निर्देशित सर्वहारा वर्गको क्रान्तिलाई महिमामय तवरले अरू गरिमा प्रदान गर्दै उल्लेखित चलचित्रहरू बनाएका थिए । 

स्ट्राइक (१९२५) मा सन् १९०३ मा रुसी कारखानाका मजदुरहरूले गरेको हड्ताल र त्यसलाई दबाउन गरिएको सरकारी दमन विस्तृत ढङ्गले देखाइएको छ ।  प्रयोगवादी रङ्गमञ्चमा काम गरेका आइजेन्सटाइनले चलचित्रमा अनेक कलात्मक प्रयोग गरेर गएका छन् । ख्यातिका हिसाबले खासै चर्चामा नआएको स्ट्राइक, क्यामेरालगायत अन्य प्राविधिक पक्षमा ब्याटलसिपभन्दा पनि बेजोड देखिन्छ । रङ्गमञ्चीय शैलीमा चलचित्रलाई ६ वटा दृश्यहरूमा विभाजन गरेर देखाइएको छ । यस चलचित्रमा धेरै कुरा समेटिएका छन् हड्तालपश्चातको भोकमरी, दमनकारी सत्ताद्वारा मजदुर आन्दोलन भाँड्न बदमासहरूको प्रयोग, कुरा लगाउने जासुसहरू, मुख्य र प्रभावकारी मजदुरहरूमाथि षड्यन्त्रपूर्वक गरिने साङ्घातिक आक्रमण आदि । चलचित्रले लेनिन र माक्र्सको मजदुरहरू एकजुट भएर लडिरहनुपर्ने र कुनै पनि बहानामा, बहकाउमा नलागेर बुद्धि प्रयोग गर्दै अघि बढ्नुपर्ने दर्शनप्रति विशेष जोड दिएको छ । 

विश्व चलचित्र इतिहासमा अत्यन्तै महत्वपूर्ण उपलब्धिका रूपमा लिइने चलचित्र  ब्याटलसिप पोटेम्किन (१९२५)मा पनि आइजेन्सटाइनले सर्वहारा मजदुरहरूकै विद्रोहलाई गरिमामय ढङ्गमा प्रस्तुत गरेका छन् । पोटेम्किन नामक रुसी युद्ध पोतका मजदुरहरूले अफिसरहरूको अन्याय र अत्याचारविरुद्ध गरेको विद्रोहलाई पाँच दृश्यहरूमा भव्य तरिकाले यस चलचित्रमा देखाइएको छ । स्ट्राइकमा जस्तै यस चलचित्रमा पनि पुँजीपतिहरूले निरस्त्र सर्वहारा वर्गको भीडलाई पुलिसको बन्दुकद्वारा संहार गरेको कहालीलाग्दो दृश्य देख्न सकिन्छ । मजदुर वर्ग सङ्गठित हुन सक्यो भने पुँजीपतिविरुद्ध युद्ध लड्न सकिने कुरामा चलचित्रले सङ्केत गरेको छ । 

अक्टोबर ः टेन डेज द्याट सुक द वल्र्ड (१९२७) आइजेन्सटाइनद्वारा निर्देशित अर्को महìवपूर्ण माक्र्सवादी चलचित्र हो । यो चलचित्र भने सन् १९१७ को विश्वप्रसिद्ध बोल्सेभिक सशस्त्र क्रान्तिमा आधारित छ, जसलाई निर्देशन गरेका थिए लेनिनले । आफ्ना अन्य चलचित्रहरूमा झैँ आइजेन्स्टाइनले अक्टोबरमा पनि मोन्टाजको प्रयोग गरेका छन् । अक्टोबर क्रान्ति हुँदा के–कस्ता अवस्था आइपरेका थिए, दरबारभित्र र बाहिरको अवस्था के–कस्तो थियो, शाही सैनिक र क्रान्तिमा सहभागी सर्वहाराहरूको अवस्था कस्तो थियो भनेर जान्न यस चलचित्रले सहयोग गर्छ । चलचित्रमा बोल्सेभिक, मेन्सेभिक र प्रतिक्रान्तिकारीहरूले गरेको चलखेल, भाषण तथा छलफल देख्न सकिन्छ । लेनिन, ट्राट्स्कीलगायतका नेताहरूले छलफल गरेको र निर्णय दिएको दृश्यले चलचित्रलाई रोचक बनाएको छ । माहोल अनुरूपका विभिन्न विम्बहरूलाई समेटेर कलात्मकतासमेत प्रदान गरिएको चलचित्र अक्टोबर अत्यन्तै सुन्दर बनेको छ । तत्कालीन रुसी कम्युनिस्ट नेताहरूबाट कलात्मक भएका कारण आलोचित यो चलचित्र आजका कम्युनिस्टहरूका लागि भने खास खुराक हुने देखिन्छ । स्ट्राइक र ब्याटलसिप पोटेम्किनको कथावस्तुले अक्टोबर क्रान्ति हुनुका कारणहरू बुझ्न सहयोग गर्छ ।  

आइजेन्स्टाइनको परम्परालाई निरन्तरता दिँदै सन् १९२७ मा अर्का महìवपूर्ण रुसी निर्देशक सेभोलोद पुदोभ्किनले विशिष्ट कलात्मकता प्रदान गर्दै द एन्ड अफ सन्त पिटर्सवर्ग नामक चलचित्र तयार पारे । पुदोभ्किन पनि आइजेन्सटाइनजस्तै मोन्टाज सिद्धान्तका प्रमुख हस्ती थिए । गोर्कीको आमालाई चलचित्रमा उतारिसकेका पुदोभ्कीनको द एन्ड अफ सन्त पिटर्सवर्ग  विषय र छायाङ्कनका दृष्टिबाट अत्यन्तै अब्बल रहेको छ र यो चलचित्रलाई पुदोभ्किनको जीवनको मात्रै नभएर रुसी चलचित्र निर्माण परम्परामा एउटा उपलब्धिका रूपमा पनि लिइन्छ । रुसी आभा गार्ड चलचित्रको कुरा उठाउँदा द एन्ड अफ सन्त पिटर्सबर्गलाई छुटाउन मिल्दैन । 

क्यामेरा पक्षमा रुसी चलचित्रहरूले विशेष परम्परा खडा गरेको देखिन्छ, जुन परम्परा अन्य युरोपेली चलचित्रहरूमा देखिँदैन । यस परम्परा या विरासतलाई खडा गर्नमा अलेक्जान्डर दोभ्झेनको, पुदोभ्किन र आइजेन्सटाइनको ठूलो योगदान रहेको देखिन्छ । यस प्रयोगवादी परम्परालाई सन् १९७० पश्चातका निर्देशकहरूले पनि निरन्तरता दिएको देखिन्छ । पुदोभ्किनले द एन्ड अफ सन्त पिटर्सवर्गमा अत्यन्तै कलात्मक तरिकाले सन् १९१३ देखि १९१७ सम्मको राजनीतिक अवस्थालाई देखाइएको छ । किसान र मजदुरहरूको विशाल संयुक्त आन्दोलनले जारशाही समाप्त भएपछि बनेको अस्थायी सरकार, जो बदनाम थियो, त्यसविरुद्ध लेनिनको समर्थनमा क्रान्ति गरेर धपाएको घटनामा पुदोभ्कनको चलचित्र केन्द्रीत छ ।

थ्री सङ्गस् अबाउट लेनिन सन् १९३४ को चलचित्र हो । यस चलचित्रका निर्देशक हुन् रुसी जिगा भर्तोभ । क्रान्तिपछि  लेनिनले रुसमा के–के काम गरे ? रुसको सामाजिक जीवनमा के–कस्तो परिवर्तन भयो भन्ने कुरा यस चलचित्रमार्फत थाहा पाउन सकिन्छ । सङ्गठित हुनु र विद्रोह गर्नु मात्रै माक्र्सवाद होइन या क्रान्ति होइन । यसै कुरातर्फ चलचित्रले सङ्केत गर्छ । स्ट्राइक र ब्याटलसिप पोटेम्किनमा लेनिनको महान भनाइ राखिएको छ । त्यस भनाइअनुसार काम भएको देखाइएको छ । क्रान्ति खास उद्देश्य र योजनाका साथ गरिन्छ र क्रान्तिपछि योजनाको कार्यान्वयन सुरु हुन्छ । वास्तवमा नेताविहीन सङ्गठित भीडको पनि औचित्य रहँदैन । सही दिमाग भएको नेतृत्व भएन भने पनि क्रान्तिको अर्थ रहँदैन । लेनिनले त्यही गरे र माओ या फिडेल कास्त्रोले त्यही गरे । 

यसरी माथि उल्लेख गरिएका यी रुसी चलचित्रहरूले माक्र्सवादको विभिन्न पक्षहरूमाथि चिन्तन गर्न सहयोग गरेको देखिन्छ । साथै मार्क्सवादको मर्मलाई पनि क्रमशः आत्मसात् गर्दै गएको देखिन्छ । 

यिनै रुसी चलचित्रहरूको प्रभाव हुन सक्छ सायद अमेरिकामा पनि एउटा माक्र्सवादी चलचित्र बनेको छ । सन् १९५४ मा प्रदर्शित साल्ट अफ द अर्थ । न्यु मेक्सिको स्थित कुनै स्थानमा रहेको खानी मजदुरहरूको हड्तालमाथि साल्ट अफ द अर्थ  केन्द्रित छ । यस चलचित्रले मजदुरहरूको सङ्गठित विरोधलाई र त्यसमा देखिने समस्या मात्रै देखाएको छैन, बरु मार्क्सवाद दर्शनको आधारबाट नारीवादको वकालत र त्यसको स्थापनामाथि पनि जोड दिएको छ । महिलाहरूले घरमा गर्ने सबै प्रकारका कामहरूको महìव दर्साउनुका साथै महिलालाई श्रमिक आन्दोलनमा सम्मानसाथ सहभागी गराउन पर्ने कुरा चलचित्रको कथावस्तुमा आएको छ । नागरिकका रूपमा स्वीकार भएपछि  महिला र पुरुष भन्ने भेद नै हुँदैन वास्तवमा । मानव इतरका प्राणीमा पनि महिला र पुरुषको विभेदकारी राजनीति हुँदैन । तर मानव जातिमा महिला र पुरुष नामक विसङ्गति खडा गरिएको छ । हुनुपर्ने समान अधिकार, समान दायित्व, समान व्यवहार र समान सम्मान हो तर भइरहेको छैन । शरीरको बनोट र मनोविज्ञान अलग हो तर अरू होइन । मजदुर आन्दोलनका साथै नारी अधिकार र सशक्तीकरणको आन्दोलनलाई यस चलचित्रले सफल ढङ्गबाट देखाएको छ ।

मजदुर आन्दोलनकै विषयमा केन्द्रित अर्को अमेरिकी चलचित्र हो नोर्मा रे (१९७९) यस चलचित्रले पनि आन्दोलनपछि  नै अधिकार मिल्ने कुरा देखाएको छ । यो चलचित्र कटन मिलमा काम गर्ने एक अमेरिकी महिलाको सङ्घर्षमा  (सत्य घटना) आधारित छ । अमेरिकी निर्देशक मार्टिन रिटद्वारा निर्देशित यस चलचित्रले कान्स फिल्म फेस्टिभलमा पुग्ने मौका पाएको र नायिका स्याली फिल्डले उत्कृष्ट नायिकाको पुरस्कार पनि हात पारेको अध्ययनले देखाउँछ ।

मजदुरहरूको कुरा उठ्दा बेलायती निर्देशकद्वय चार्ली च्याप्लिन र केन लोचका चलचित्रहरूलाई छुटाउन मिल्दैन । उनीहरूका चलचित्रका मुख्य पात्रहरू र चलचित्रको कथावस्तु जहिले पनि सर्वहारा नै रहेको देखिन्छ । सरलता नै दुवैका चलचित्रहरूको अर्को विशेषता रहेको छ ।

माक्र्सवादी चलचित्रहरूको कुरा आउँदा फ्रेन्च न्यु वेभ निर्देशक जँ ल्युक गोदाको पनि नाम आउने गर्छ । उनका दुई चलचित्रहरू विक एन्ड (१९६७) र तु भा बिएन (१९७२) लाई माक्र्सवादी चलचित्रका रूपमा प्रचार र व्याख्या गरिने गरिएको देखिन्छ । तर यी चलचित्रहरूले माक्र्सवादको प्रतिनिधित्व नगरी फ्रान्स र जर्मनीमा सन् १९६० र १९७० को दशकमा देखा परेको विद्यार्थी आन्दोलनको प्रतिनिधित्व गरेको देखिन्छ । त्यस आन्दोलनको नेतृत्व तह मात्रै नभएर उद्देश्य पनि नरहेको कुरा स्पष्टसँग बुझ्न द बादर माइनहोफ कम्प्लेक्स् (२००८) हेर्नुपर्ने हुन्छ । विद्यार्थीहरूको विरोधको विषय पुँजीपति बुर्जुवा र सत्ताधारी थिए । 

फ्रान्समा विद्यार्थीहरूले सडक आन्दोलन गरे, रातो किताब बोकेर ‘हो चि मिन’ चिच्याए  । पुँजीवाद मुर्दावादको नारा लाग्यो । जर्मनीमा सानो जमात तयार भयो ठूला व्यक्तिहरूको हत्या भयो, बम र गोलीको प्रयोग पनि भयो । ठूला बैङ्क लुटियो ।  तर रुसमा जस्तो उद्देश्यसहित अनुशासनमा रहेर क्रमबद्ध तरिकाबाट होइन । ती जमातको कम्युनिस्ट गुरिल्लाप्रति पनि विरोध रह्यो । फ्रान्स र जर्मनी दुवै देशका विद्यार्थी या माओ प्रभावित युवाहरू सर्वहारा मजदुर र किसानको विशाल भीडबाट पर रहेर हिप्पी, अमेरिकी पप सङ्गीत आदिबाट प्रभावित जमात देखिन्छन् । केवल पुँजीवादी सत्ताको अङ्गमा आक्रमण गर्दै गइरहने र आक्रमणमा मात्रै सीमित रहने ।       

सन् १९६५ सम्म परम्परागत शैलीमा (शृङ्खलाबद्ध कथानकसहित) चलचित्र बनाइरहेका गोदाले म्यास्कुलिन फेमिनिन (१९६६) देखि विशृङ्खलित चलचित्रहरू बनाउन सुरु गरेको देखिन्छ र अ म्यारिड ओमन (१९६४) देखि गोदाको ध्यान ज्यादा पुँजीवादी जीवनशैलीभित्रका विसङ्गतितर्फ मोडिएको देखिन्छ । हुन त म्यास्कुलिन फेमिनिनमा पनि हो कि होइनजस्तो गरेर अस्पष्ट ढङ्गमा पुँजीवादतर्फ क्यामेराले औँल्याएको छ । दुवै चलचित्रमा उपभोक्तावादी, पुँजीवादी नारीवादको अस्तित्व छाम्न सकिन्छ ।

सन् १९६८ मे महिनाको विद्यार्थी आन्दोलन हुनुअघिको फ्रान्सेली माहोललाई राम्रोसँग अध्ययन गरेकाले नै हुनसक्छ गोदाले सन् १९६७ मा द चाइनिज प्रदर्शनीका निम्ति तयार पारे । 

साठीको दशकमा चीन र भियतनामको कम्युनिस्ट आन्दोलनबाट प्रभावित पश्चिम युरोपका विद्याद्र्यीहरूजस्तै गोदा पनि माक्र्सवाद र कम्युनिस्ट आन्दोलनप्रति तानिएका देखिन्छन् । 

चलचित्र बनोट तथा बौद्धिक चिन्तनका हिसाबले चाइनिज (१९६७) गोदाको सबैभन्दा सफल र स्पष्ट माक्र्सवादी चलचित्र हो भन्दा फरक पर्दैन । माओ प्रेमी केही युवकयुवतीमार्फत गोदाले पात्रहरूमार्फत माक्र्सवादी पुस्तकबाट अनेक टिप्पणी चलचित्रमा उतारेका छन् । यस चलचित्रमा स्टालिनपश्चातको रुसलाई अमेरिकाकै अर्को स्वरूपमा देखाइएको छ र फटाहाका रूपमा  आलोचना गरिएको छ, माओको फोटो, लाल किताबहरूको थुप्रो र अन्य धेरै कुरा यसमा देखाइएको छ । माक्र्सवादमा आधारित रहेर कलासम्बन्धी छलफल समेटिएको छ । एउटा युवकले गम्भीर कुरा साथीहरूलाई सुनाउँछ– एक बालकलाई कुनै पनि मानिसको आवाज नसुनाईकन हुर्काउँदा उसले कस्तो भाषामा बोल्छ भनेर प्रयोग गर्दा ठूलो भएपछि त्यस बालकले भेडाको आवाज निकाल्छ, कारण खोतल्दा बालक थुनिएको स्थानभन्दा परबाट भेडाको आवाज आउने गर्दो रहेछ । युवकले यो प्रसङ्ग लगेर आफू र आफ्ना साथीहरू कम्युनिस्ट मानिसहरूको कोठा छेउमा कोठा लिएर बस्ने क्रममा कम्युनिस्ट हुन सिकेको या रेड बुक पढ्न थालेको कुरामा लगेर जोड्छ । यी विद्यार्थीहरू कम्युनिस्ट पार्टीमा आबद्ध छैनन् र यिनको ठोस उद्देश्य नै देखिँदैन । केवल सतही आकर्षणले उचालिएका देखिन्छन् ।