• ११ मंसिर २०८१, मङ्गलबार

पर्यावरणीय जोखिम

blog

पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण समय आएको विश्लेषण हुन थालेको छ। यो शताब्दीको विशिष्टता के औँल्याइन्छ भने यसको आरम्भ नै पृथ्वीको जीवनदायिनी शक्ति खतरामा परिसकेको अवस्थामा भएको थियो। यो बिग्रँदो  स्थिति २०२२–२३ का बीच अझ विकट हुन पुगेको औँल्याइँदै छ। यसका मुख्य दुईवटा कारण बताइएको छ। पहिलो– जलवायुमा परिवर्तन, वायु प्रदूषण, पानीको सङ्कट आदि लगायत एक दर्जन जति गम्भीरतम पर्यावरणीय समस्याहरू। दोस्रो– अत्यन्तै गम्भीर कुरा विश्वमा एक हजार ३०० भन्दा बढी परमाणु हतियार र अन्य अति विनाशकारी हातहतियारको विशाल भण्डार। यदि यीमध्येमा १० प्रतिशतको मात्रै पनि उपयोग गरियो भने यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभावले पृथ्वीका अधिकांश जीवन नष्ट हुन सक्छ, केही बाँकी रहन्न।

यस्तो गम्भीर अवस्थामा पनि बहिरी रूपमा अधिकांश मानिस सामान्य दैनिक कार्यमा नै व्यस्त रहेको देखिन्छन्। यद्यपि यथार्थ के छ भने यो पृथ्वीको इतिहासमा त्यसको जीवन र जीवनदायिनी शक्ति अर्थात् क्षमता पहिले कहिल्यै यति विघ्न सङ्कटग्रस्त भएको थिएन, जति आज भएको ज्ञाताहरू बताइरहेका छन्। यो अहिलेको शताब्दीको सबैभन्दा गम्भीर चुनौती हो। यसका साथै पहिलादेखि नै चल्दै आइरहेका अन्य ठूल्ठूला  चुनौतीहरू पनि रहेकै छन् र ती कम खतरनाक छैनन्। आज पनि समानता र न्यायको आधारभूत व्यवस्था स्थापना गर्न, सम्पूर्ण मानिसका लागि सार्थक जन–लोकतन्त्र स्थापना गर्न र सबल तुल्याउन कम चुनौतीपूर्ण छैन। यसो भन्नु अझ बढी सही होला कि यो पृथ्वीको जीवनदायिनी शक्तिको रक्षा गर्ने कार्य न्याय र जन–लोकतन्त्रको व्यवस्था या परिधिकै बीच प्राप्त गर्नुपर्ने ठूलो चुनौती छ।

यसमा हामी सबैका सामु ठूलो प्रश्न छ, यी गम्भीर चुनौतीसँग हामीले आमजनतालाई के कसरी जोड्न सकौँला ? यी चुनौतीको सामना गर्न सम्पूर्ण जनतालाई त्यसमा जोड्नै पर्छ र उनीहरूको योगदान रहनै पर्छ तर यसबारेमा एकदमै प्रस्ट स्पष्टताको आवश्यकता छ कि यी समस्या र जनताका बीच सामञ्जस्यता कसरी कायम गर्न सकिन्छ ? यति कुरा त स्पष्टै भन्न सकिन्छ कि जुन यी समस्या समाधानको बाटो छ त्यो मूलतः न्याय, समानता, शान्ति, पर्यावरणको रक्षा र जन–लोकतन्त्रकै बाटो हो। यो बाटोमा अधिकांश मानिस हिँड्न सक्याैँ भने यी चुनौती र समस्या सुल्झाउने मार्ग पनि निश्चय नै प्रशस्त हुनेछ। 

प्रस्टै छ कि जुनसुकै ठूलै समस्या पनि सुरुमा सानै स्तरमै सुरु हुन्छन्। उदाहरणका लागि आजकल ठूल्ठूला  सहरमा फोहोरका पहाड या ल्यान्डफिल्ड जुन खडा हुने गरेका छन्, त्यसबाट मिथेन ग्यास उत्सर्जन ठूलो मात्रामा हुने गर्छ। त्यो कार्बनडाइअक्साइडभन्दा अझ बढी खतरनाक ग्रिन हाउस ग्यास हो भनेर पर्यावरणविद्हरू बताइरहेका छन्। घर–घरमा र कार्यालयहरूको स्तरमा फोहोरको वर्गीकरण गरेर त्यसको राम्रोभन्दा राम्रो व्यवस्थापन गरिएमा विशेष गरेर खाद्य पदार्थलाई व्यर्थ तुल्याउने प्रवृत्तिलाई न्यूनीकरण गर्न सकिएमा यसबाट ल्यान्डफिल र मिथेन ग्यास उत्सर्जनको समस्यालाई निकै नै कम गर्न सकिन्छ भन्ने ती विज्ञहरूको राय छ।

कृषिमा रासायनिक मलखाद, कीटनाशक विषादीको अधिक उपयोगले पनि जलवायु परिवर्तनको समस्या बढ्न सक्ने अध्ययनहरूले देखाएको छ। त्यसविपरीत प्राकृतिक खेतीपातीबाट माटोको गुणस्तर र खाद्य पदार्थको गुणस्तर सुध्रिनुका साथै जलवायु सङ्कटको समस्यालाई पनि कम गर्न सकिने पनि खोज अनुसन्धानले प्रमाणित गरेको छ। अर्कोतिर सामाजिक रूपमा सबै धर्मप्रति सद्भाव र सहिष्णुता जगाएर अनावश्यक झैझगडाको साटो सद्भाव फैलाएर एकताको सन्देश दिएर, महिलाविरुद्धको हिंसा कम गरेर हामीले समाजमा दुःख, तनावलाई कम गर्न मद्दत पु-याउन सक्ने कुरा कम महत्वको छैन। यसरी विश्वलाई जुन अमनचयन र शान्तिको आवश्यकता छ, स्थानीय स्तरमा यसप्रति अनुकूल परिवेश निर्माण गर्न सकिन्छ। यसरी यदि बढ्दो सङ्ख्यामा मानिसले परस्पर र आसपासको समस्यालाई कम गर्नुका साथै विश्वस्तरका समस्याको समाधानमा पनि आफूलाई जोड्न सके भने यस प्रकारका रचनात्मक प्रयासतर्फ बढ्न सक्छन् र त्यसबाट स्थानीय समाधान राष्ट्रिय र विश्वस्तरको समाधानसँग जोडिन जान्छन्।

यसमा थप कुनै पनि सङ्गठन, अभियान या जनआन्दोलनहरूले यस किसिमका रचनात्मक सोचलाई प्रचार प्रसार गर्न सहायक भए भने त यो काम अझ राम्रो किसिमले सार्थक हुन सक्छ। यसरी नै यस्ता समस्या समाधानको ज्ञान भएका विद्वान्हरू पनि यसमा जोडिएमा जनतालाई सम्झाउन, बुझाउन अझ राम्रो मद्दत मिल्नेछ। अनि अर्को के प्रश्न आउँछ भने यस किसिमको भूमिकाका लागि जो पनि अगाडि सर्न चाहन्छन्, उनीहरूले यो भूमिकालाई राम्रोसँग निर्वाह गर्नका लागि आफूलाई कसरी तयार पार्न सक्छन् ? निश्चय नै यस्तो भूमिकालाई स्थायी रूपमा तिनैले निर्वाह गर्न सक्छन्; जसको न्याय, समानता, शान्ति, सद्भावना पर्यावरण तथा सबै किसिमको जीवन र जन–लोकतन्त्रको रक्षाका लागि दृढ प्रतिबद्धता रहेको हुन्छ। 

यसरी जो–जो नागरिकले आफूलाई यस कार्यका लागि तयार गर्छन्, तिनले आफ्नो वरिपरिको जीवनका समस्यालाई कम गर्ने कार्य दिगो रूपमा यसरी गर्न सक्नेछन्; जसबाट ती विश्वस्तरका समस्या समाधानसँग पनि जोडिन सक्छन्। विश्वस्तरमा लाखौँ–करोडौँ मानिस यसरी जीवन जिउने प्रयासमा लाग्छन् भने विश्वस्तरका समस्या कम गर्नमा अवश्य आवश्यक सहायता मिल्दछ। सबैभन्दा ठूलो प्रश्न त अन्त्यमा के हुन्छ भने ठूलो सङ्ख्यामा मानिसलाई स्थानीय र विश्वव्यापी समाधानको बाटोमा के कसरी हिँडाउन प्रेरित र अभिप्रेरित गर्न सकिन्छ ? 

आवश्यकता यस कुराको छ कि जो पनि न्याय, समानता, शान्ति र जन–लोकतन्त्रलाई सबल गर्ने सङ्गठन र जनआन्दोलनहरू छन्, ती सबैमा परस्पर एकता, एकजुटता बढाउनु पर्छ अनि यो धरतीको जीवनदायिनी शक्तिलाई रक्षा गर्ने आफ्नो कार्यमा आवश्यक विस्तार गर्नुपर्छ। यो धरतीको रक्षा गर्ने व्यापक मुद्दालाई मानिसको दुःख दर्द कम गर्ने मुद्दासँग जोडेर यसका लागि व्यापक समर्थन प्राप्त गर्न सकिन्छ तथा यस्ता प्रयासका क्रममा जनसाधारणको धरतीको जीवनदायिनी शक्तिसम्बन्धी समझदारी पनि बढाउन सकिनेछ। उदाहरणका लागि शान्ति सुरक्षाको आन्दोलनमा दैनिक जीवनमा हिंसाका विरुद्ध कार्य गरिनुपर्दछ र साथै महाविनाशक हातहतियारहरूका विरुद्ध के गर्नु आवश्यक छ ? यसका लागि पनि समझदारी बनाइनुपर्छ। यस प्रकार भुइँस्तरमा जब धरतीको रक्षासम्बन्धी समझदारी व्यापक बन्नेछ र तलदेखि मााथिसम्म निरन्तरतापूर्वक यसका लागि आवश्यक कदम उठाउने दबाब बनिरहन्छ, त्यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि यसका लागि प्रभावकारी कारबाहीको सम्भावना बढ्न सक्छ र लागु हुन्छ। 

लेखक वामपन्थी बुद्धिजीवी हुनुहुन्छ ।    

Author

लोकनारायण सुवेदी