• ११ मंसिर २०८१, मङ्गलबार

नगरभरिका देवदेवीलाई सगुन

blog

भक्तपुर, वैशाख ५ गते । बिस्काः जात्रा मनाउने क्रममा सोमबार भक्तपुरवासीले नगरभरिका देवदेवीलाई सगुन (द्यःयात संगःं बियेगु) चढाएका छन् । प्रत्येक वर्ष बिस्काः जात्राको क्रममा वैशाख ४ गते भक्तपुरवासी नगरका सबै मठमन्दिरमा बाजागाजासहित पुगेर सगुन चढाउने परम्परा रहेको छ । 

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकुपटासी र दौरा सुरुवालमा सजिएर सांस्कृतिक मार्गबाट लामबद्ध भएर सगुन चढाएका थिए । सगुन चढाउनका लागि टोलटोलमा आ–आफ्ना द्यो छें (देवता घर) बाट देवतालाई निकाली चोक तथा डबलीमा राखिएको थियो । सगुनका रूपमा रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटीलगायत खाद्यसामग्री चढाएको थियो । भक्तपुर नगरभित्रका ४० भन्दा बढी स्थानमा यस्तो सगुन चढाइने स्थानीय श्यामकुमारी भासीमाईले जानकारी दिनुभयो । 

सगुन यात्रा सूर्यमढीबाट दत्तात्रय, गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो । त्यस्तै गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा, दरबार क्षेत्र हुँदै तलेजु, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुग्ने उहाँले बताउनुभयो । भासीमाईका अनुसार सूर्यमढी पुगेपछि साँझ जात्रा अन्त्य गर्ने  परम्परा रहेको छ । 

बिस्काः जात्राका क्रममा विघ्नबाधा वा केही भुलचुक भए माफ पाऊँ भनी नगरभरि रहेका देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिइने संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो । उहाँले बिस्काः जात्राका क्रममा देवीदेवतालाई रथ खटमा राखेर जात्रा गर्दा देवीदेवता अशुद्ध हुने मान्यताअनुरूप आठौँ दिन सगुन पूजा गरेर चोख्याइएको बताउनुभयो । अष्टमातृका अन्तर्गतका ब्रह्मायणी, महेश्वरी, कुमारी, विष्णुवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, भैरव, भद्रकाली, बेताल, गणेश, मनकामना, भीमसेनलगायत नगरभित्रका ४३ देवदेवीलाई स्वगं अर्थात् सगुन चढाउने प्रचलन रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले दुई दिन चल्ने प्राचीन बिस्काः जात्रालाई आठ दिन नौ रातसम्म मनाउने प्रचलन बसालेपछि द्यः स्वगं बियगु अर्थात् सगुन जात्रा गर्ने चलन चलाएका हुन् ।”

सगुन चढाउने देवतालाई आइतबार राति नै देवघरबाट निकालेर नजिकैको चोकको पाटीमा राखिने गरिन्छ । बेलुका सबै देवीदेवतामा भक्तजनले चढाएको सगुन, सम्हेबजी टोलका सबैलाई प्रसाद वितरण गरी बाजागाजासहित आआफ्नो मन्दिर लैजाने चलन छ । गणेश, भद्रकाली र भैरवनाथलाई भने बिस्काः जात्राको पहिलो दिन चैत २७ गते नै देवघरबाट निकाली रथमा राखिन्छ । जात्रापछि यी देवतालाई पुनः देवताघरमा फर्काइन्छ । यीमध्ये भैरव र भद्रकालीलाई भने वैशाख ५ गते जात्रा सकेपछि मात्रै देवघर फिर्ता लगिन्छ ।