• ११ मंसिर २०८१, मङ्गलबार

मानव निर्मित कृत्रिम व्यक्ति

blog

विधिशास्त्री साल्मन्डले “व्यक्ति त्यो हो, जसले अधिकार र कर्तव्य पूरा गर्न सक्छ” भने । प्राचीन रोमन कानुनमा दास–दासीहरूको आफ्नै अधिकार नहुने भएकोले उनीहरूलाई व्यक्तिको दर्जा दिइएन । मानिस जन्मेपछि व्यक्तिका अधिकारको सिर्जना हुने भन्ने मानिने भए पनि विकसित सम्पत्तिसम्बन्धी मान्यताले पेटमा भएका मानिसको र कतिपय अवस्था मरेपछि पनि व्यक्तिसरहका अधिकार सिर्जित हुने भन्ने विधिशास्त्रीय मान्यता छ । मृतकको शरीर तथा सम्पत्ति उसको इच्छाअनुसार कानुनबमोजिम गर्नुपर्ने अवस्था बन्छ । मृतकको चाहना पूरा गर्नुपर्ने कानुनी तथा नैतिक दायित्व उसको कानुनबमोजिमको हकवाला र समाजलाई हुन्छ तर मरेको मान्छेको आफ्नै कर्तव्य भने सकिन्छ । त्यसैले फौजदारी कानुनमा अपराधी मरेसँगै अपराधको पनि मृत्यु हुन्छ भनिन्छ । अर्थात् कसैले फौजदारी अपराध गरेर मर्न पुगेको खण्डमा कानुनबाहेक अन्य कसैलाई पनि सोही विषयमा सजाय गरिन्न । सम्पत्तिसम्बन्धी विषयमा पेटको बच्चाको समेत अधिकारको सिर्जना हुन्छ । 

जनावरले दायित्व र कर्तव्य निभाउन नसक्ने भएकोले उसको आफ्नै हक र अधिकार बन्दैन, हुँदैन । अमेरिकामा चिम्पान्जी थुनिएको मुद्दामा चिम्पान्जीको अधिकार स्थापित हुन सकेन । मानिसले चिम्पान्जीलाई जसरी व्यवहार गर्न सक्छ त्यसैगरी उसले व्यवहार गर्नै सक्दैन । जनावरलाई व्यक्ति मान्न नसकिए पनि क्रुर तरिकाले मार्न र यातना दिन सकिन्न । नेपालको फौजदारी संहिता ऐन, २०७४ ले पनि सो कुरालाई उल्लेख गरी त्यस्तो कुरा गैरकानुनी हुने भनेको छ । 

मूलत : व्यक्ति दुई प्रकारका हुन्छन् । कानुनी र प्राकृतिक व्यक्ति । कानुनी व्यक्ति कानुनद्वारा सिर्जित हुन्छन् । प्राकृतिक व्यक्तिमा मानिस पर्छन् । कानुनी व्यक्तिको गठन र सञ्चालनमा पनि मानिस नै हुने भएकोले कतिपय अवस्थामा कानुनी व्यक्तिबाट भएका गल्तीमा मान्छेलाई नै दोषी मानिन्छ । जन्मेका सबै मानिस व्यक्ति भए पनि कानुनअनुसार दायित्व पूरा गर्न सक्ने वा सजायका लागि भागीदार बनाउन सकिनेलाई मात्र दायित्व बेहोर्न बाध्य पार्न सकिन्छ । जस्तो दस वर्षमुनिका बालबालिकालाई उनीहरूले गरेको अपराधमा सजाय गर्न सकिन्न तर कसैले बालबालिकालाई लगाएको अवस्थामा भने उसले आफैँले गरेसरह लगाउनेलाई चाहिँ सजाय हुन्छ । कुनै व्यक्तिको कुनै विषयमा पूर्ण अधिकार हुनका लागि त्यो दाबी गर्न सक्ने, त्यो भोग गर्न 

सक्ने, त्यसलाई आफूखुसी प्रयोग गर्ने, अन्यलाई रोक्न सक्ने र त्यो वस्तुप्रतिको अधिकार भएको अवस्था हुनुपर्छ । 

विधिशास्त्री जि.डब्लु. पेटनको पुस्तक ‘थ्यौरी अफ पर्सनालिटिज्’ मा व्यक्ति, व्यक्तित्व, कर्तव्य र अधिकारजस्ता पक्षमा व्याख्या गरिएको छ । कसैले कुनै वस्तु दिन सक्ने अधिकार छ भने नदिन सक्ने अधिकार पनि हुन्छ । बेलायतको ‘स्यालमन्ड विरुद्ध स्यालमन्ड’ को मुद्दामा प्राकृतिक व्यक्ति र कम्पनीको बारेमा व्याख्या गरियो । दार्शनिक कार्नुलुटिले व्यक्तिमा आर्थिक र कानुनी तìव हुने उल्लेख गरे । उनले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुवैमा आर्थिक र कानुनी तìव निहित रहेको भने । विधिशास्त्री हेन्स केल्सनले कानुनी व्यक्ति र प्राकृतिक व्यक्ति दुवैको अधिकार र दायित्व हुने कुरामा जोड दिए । कुनै कुरामा कसैको अधिकार हुनका लागि अरू कसैको त्यसैमा दायित्व भएकै हुनुपर्छ । विधिशास्त्री जोन अस्टिनले भने शासक वा सत्तासँग अरूलाई जसरी पनि कर्तव्य पालना गर्न लगाउने अधिकार हुने बताए । यद्यपि कानुनविद् एच.एल.ए. हार्टले त्यस्तो सिद्धान्तलाई बन्दुके सिद्धान्त (गनम्यान थ्यौरी) भन्दै खरो खालोचना गरे । आइहेरिङले अधिकारलाई ‘कानुनी रूपमा संरक्षित गरिएको हित’ भनी व्याख्या गरे । त्यसैले चन्दा, ऋण, माग, सहयोग आदि व्यक्तिका अधिकार हुन सक्दैनन् । जस्तो नेपालमा भूकम्प गएको समयमा विदेशी निकाय र व्यक्तिले दिने भनिएका सहयोग हाम्रो अधिकार भएन, होइन । त्यसैले सो पैसा उनीहरूले नदिए पनि हामीले कसैलाई केही गर्न सकेनौँ । यस्ता विषय केवल सार्वजनिक नैतिकताको विषय मात्र हुन पुग्छ । 

व्यक्ति कानुनी र प्राकृतिक मात्र हुने स्थापित कानुनी मान्यतामा हाल मानव निर्मित कृतिम व्यक्ति (आर्टिफिसियल इन्टिलिजेन्स पर्सन) पनि हुने विधिशास्त्रीय मान्यताले विश्वमा चर्चा र महत्व पाएको छ । सन् २०१७ मा हङकङको जोनसन कम्पनीले मान्छेजस्तै स्मरण क्षमता भएको सोफिया नामको कृत्रिम मानिस बनायो । सोफियाले मान्छेजस्तै बोल्ने, सोच्ने, चिन्ने, प्रतिक्रिया देखाउने आदि गर्ने भएपछि मेसिनलाई पनि व्यक्ति (पर्सन) को दर्जा दिनुपर्ने आवाज बलियो बन्यो । सोफियालाई साउदी अरबले नागरिकता नै दियो । त्यसपछि कृत्रिम व्यक्तिको सम्बन्धमा विश्वमा एक खालको बहसले बढी महत्व पायो । युरोपियन युनियनले प्रस्ताव नै पारित गरेर मानिसजस्तै स्वभावको भएको र साउदी अरबले नागरिकता दिएको भए पनि ऊसँग अधिकार, दायित्व, नैतिकता, दयाजस्ता मानवीय पक्षको अभाव रहेको भन्यो तर युरोपियन युनियनले सोफियालाई ‘इलोक्ट्रोनिक पर्सनालिटी’ को संज्ञाचाहिँ दियो । 

  व्यक्ति भन्नेवित्तिकै अधिकार र कर्तव्य जोडिएको हुने मान्यताअनुसार बच्चा पनि प्रथम दृष्टिमा त व्यक्ति नै हो तर कानुनको दृष्टिकोणमा व्यक्ति भन्दै कर्तव्य र दायित्व तोक्न सकिन्न । मानवशास्त्रीय मान्यताअनुसार सामाजिक दृष्टि र मान्यतालाई महìव दिने भएकोले विधिशास्त्री एचएलए हार्टले बच्चालाई पनि व्यक्ति (पर्सन) को मान्यता दिए । अधिकार र कर्तव्य, नैतिकता, मानवीयता र मूल्य आदिको सम्मान तथा अनुभूति गर्न सक्ने भएकोले मानिसलाई प्रथम स्तरको व्यक्तित्व (फस्ट क्लास पर्सनालिटी) मानिएको छ । संस्थागत व्यक्तित्व (कर्पाेरेट पर्सनालिटी) मा कानुनको आँखामा अलग्गै व्यक्तित्व हुनुपर्छ भने मानिसमा आमाको पेटबाट अलग भएपछि त्यो अधिकारको सिर्जना भइहाल्छ । कानुनी व्यक्तित्वको अलग कानुनी अस्तित्व हुनैपर्छ । कानुनी व्यक्ति अविछिन्न उत्तराधिकारवाला व्यक्ति हो । कम्पनीका सबै सेयर सदस्य मरेर पनि कम्पनी बाँच्न सक्छ । कम्पनी कानुनअनुसार मात्र मर्न सक्छ । मानिसचाहिँ प्राकृतिक, वैज्ञानिक वा कालगतिले मर्न पुग्छ । 

नेपालको कम्पनी ऐन, २०६३ को दफा २ मा ‘कम्पनी भन्नाले कम्पनी ऐनअनुसार दर्ता भएको कम्पनीलाई बुझउछ’ भनिएको छ । कम्पनी ऐनअनुसार दर्ता भएका कम्पनी ऐनअनुसार नै प्रक्रिया पूरा गरेपछि बन्द (विन्डिङ अप) गर्न सकिन्छ । कम्पनी बन्दपछि दायित्व सकिने भए पनि कतिपय लिनु दिनुसम्बन्धी दायित्व भने बच्न सक्छ । कोमामा रहेको वा होसमै नरहेको मानिसले पनि आफ्नो पक्षमा आफ्नो प्रतिनिधिमार्फत मुद्दा गर्न सक्छ । होसमा नभएको स्थितिमा पनि मानिस प्र्राकृतिक व्यक्ति रहन्छ । यो व्यक्तिसम्बन्धी प्राकृतिक सिद्धान्त र मान्यता हो । पागल मानिसको कुनै दायित्व हुन्न बरु त्यस्तालाई उपचार गर्ने दायित्व कानुनी अधिकार भएको मानिसको वा राज्यको हुन्छ । 

कानुनी व्यक्ति र प्र्राकृतिक व्यक्तिको मूल भिन्नता भनेको कानुनी व्यक्तिले कानुनले तोकेको मात्र कार्य गर्न सक्छ भने प्राकृतिक व्यक्तिले कानुनले निषेध गरेको भन्दाबाहेक सबै कार्य गर्न सक्छ । जस्तो जुत्ता बनाउन खोलेको कम्पनीले बन्दुक बनाउन सक्दैन । बैङ्कले सिमेन्ट किनबेच गर्न सक्दैन तर एउटा प्राकृतिक व्यक्ति वा एउटै मानिसले कानुनबमोजिम कलेज पढाउन सक्छ । कुनै स्थानमा पसल खोल्न सक्छ । पत्रिकामा लेख लेख्न सक्छ र सोही व्यक्तिले सहकारी पनि खोल्न सक्छ तर कानुनी दायित्व र अधिकारको दुरुपयोग भएमा सजाय हुन्छ । कम्पनीमा कानुनले तोकेको भन्दा भिन्न काम भएमा त्यसको पर्दा खोलिन्छ (कर्पाेरेट भेल) र चेकजाँच गरिन्छ । कम्पनीलाई अहित गर्ने प्राकृतिक व्यक्ति वा मानिसलाई सजाय हुन्छ । आजको आधुनिक र विश्वव्यापीकरणको प्रत्यक्ष प्रभाव रहेको विश्वमा अधिकार र कर्तव्यको विधिशास्त्रीय महìव 

बढेर गएको छ । सबै अदालती मुद्दा अधिकार र कर्तव्यको विधिशास्त्रीय दर्शनसँग सम्बन्धित देखिन्छन् । यसर्थ यसको अन्तरसम्बन्ध बारेमा सूचित हुनु आवश्यक छ । 

लेखक अधिवक्ता हुनुहुन्छ ।   

Author

प्रेमराज सिलवाल