गोरखापत्र अनलाइन
चितवन, वैशाख ३ गते । नेकपा (एमाले) का सचिव तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले समाजलाई ढाँट्नु राजनीतिक अपराध भएको बताउनुभएको छ । चुनावताका अनेकथरी जनतामा भ्रम बाँड्नु गलत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशलाई ढाँटेको दावी गर्दै अहिले चितवनका जनतामा भ्रम छर्नेकाम गरेको उहाँको भनाइ छ । लामिछाने पुनः निर्वाचित भएमा जनता र देश ढाँटिने उहाँले दावी गर्नुभयो ।
प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नु भनेको देश, जनता, कानून, संविधानलाई ढाँट्नु हो उहाँले भन्नुभयो, “एमालेलाई ७० वर्षसम्म नआएका प्रश्नहरुको सामना सभापति लामिछानेले सात महिनामा गर्नुपरेको छ, लामिछानेले दिएका सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै हो ।”
सभापति लामिछाने गृहमन्त्री पदमा रहँदा सार्वजनिक खरिद ऐनविपरित ठेक्कापट्टामा निर्णय गरेको पनि उहाँले चर्चा गर्नुभयो । “मान्छेले गल्ती गर्नसक्छ, त्यसप्रति माफी पनि हुन्छ । तर सभ्य समाजलाई ढाँट्नु अपराध हो” उहाँले भन्नुभयो ।