• १२ मंसिर २०८१, बुधबार

प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव

blog

बजेट तथा योजना तर्जुमासम्बन्धी प्रदेश सभा सदस्यहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री शाह । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह 

गोदावरी (कैलाली), वैशाख ३ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ बजेट तथा योजना तर्जुमासम्बन्धी प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तर्क्रिया गरेको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेको कार्यक्रममा प्रदेश सभा सदस्यहरूले प्राथमिकताका आधारमा बजेट तथा योजना बनाउनु पर्नेमा जोड दिएका छन् ।

कैलालीको गोदावरीमा जारी छलफलमा प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट निर्माणबारे प्रदेशसभा सदस्यहरूसँग छलफल गरेर राम्रो कामको सुरुवात गरिएको बताउनुभयो । विगतका कमी कमजोरी र सिकाइपछि छलफल भएको भए झन् राम्रो हुने उहाँले सुझाउनुभयो । उहाँले भौतिक विकास मात्र नभई मानवीय विकास र रोजगारीमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कामका लागि भारत जाने अवस्थालाई रोक्नेगरी बजेट निर्माण गर्न पनि उहाँले सुझाव दिनुभयो ।

कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बेलबहादुर रानाले हामीले यो काम गरेका छौ भन्ने देखाउने गरेर बजेट तथा योजना तर्जुमा गर्न सुझाव दिनुभयो । विगतमा दुई सय योजनामा २७ करोड बजेट दिइएको उदाहरण दिँदै त्यस्तो तरिकाले अब बजेट विनियोजन गर्न नहुने बताउनुभयो । 

बाजुराका प्रदेश सभा सदस्य पदमबहादुर शाहीले सङ्घ र स्थानीय सरकारको चेपुवामा आफूहरू परेको बताउँदै आफूहरू पनि जनताबाट निर्वाचित भएकाले बजेट वितरण गर्न पाउनुपर्ने बताउनुभयो । भ्रष्टाचार हुन्छ भनेर बजेट वितरण गर्न नदिनु गलत भएको बताउँदै भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने अख्तियारलगायतका निकाय भएको उहाँले स्मरण गराउनुभयो ।

डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य चक्र मल्लले पनि अबका दिनमा बिचौलियालाई हाबी हुनबाट रोक्नुपर्ने बताउँदै निर्वाचन क्षेत्र विकास कोषबाट समेत बजेट दिइनुपर्ने बताउनुभयो । बाजुराका प्रदेश सभा सदस्य जुना दानीले पारदर्शी तरिकाले काम हुने गरेर बजेट तथा योजना बनाइनु पर्ने धारणा राख्नुभयो । 

अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मेघराज खड्काले बजेटका प्राथमिकता निर्धारण गर्नुपर्ने बताउँदै आम्दानीका स्रोत बढाउनेतर्फ पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । प्रदेश सभा सदस्यहरूले धारणा राखिसकेपछि मात्र मुख्यमन्त्री शाही र मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । 

प्रदेशको आर्थिक मामिला मन्त्रालयद्वारा आयोजित सो कार्यक्रममा नेपाल सरकारका सचिव उदय सापकोटा, पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी, सुदूरपश्चिमका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले कानुन तर्जुमा, बजेट तथा कार्यक्रम र सुदूरपश्चिमको वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशाबारे प्रस्तुति गर्नुभयो ।  

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सो मन्त्रालयका सचिव डा. नारायणप्रसाद रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।