• १३ मंसिर २०८१, बिहिबार

विद्यार्थी र युवालाई विपत्सम्बन्धी तालिम

blog

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख ३ गते । सिन्धुपाल्चोकका उच्च जोखिम क्षेत्रका विद्यार्थी र युवालाई खोज, उद्धार तथा प्राथमिक उपचारको तालिम दिइएको छ। 

विपत्का समयमा सुरक्षाकर्मीलाई सघाउन भोटेकोशी गाउँपालिकाका ८८ जना युवा र विद्यार्थीलाई विपत् प्रभावितको खोज, उद्धार र घाइतेको प्राथमिक उपचार गर्ने ज्ञान र सीप सिकाउने उद्देश्यले तालिम दिइएको हो। भोटेकोशी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी तातोपानी उपशाखा र प्रतिबद्ध परियोजना–२ को संयुक्त आयोजनामा यहाँ तालिम आयोजना गरिएको हो।

भोटेकोशी गाउँपालिका प्राकृतिक विपत्का हिसाबले ज्यादै संवेदनशील क्षेत्र हो। यस क्षेत्रमा बर्सेनि प्राकृतिक विपत्ले ठूलो जनधनको क्षति हँुदै आएको छ। विपत्का समयमा जनधनको क्षति कम गर्न युवा र विद्यार्थीलाई तालिम दिइएको प्रतिबद्ध परियोजना–२, जिल्ला संयोजक दीपिका अर्यालले जानकारी दिनुभयो।

तालिममा विपत्का बेला घाइतेको कसरी खोजी र उद्धार गर्ने, कसरी प्राथमिक उपचार गर्ने, घाइतेको जाँच, मुटु, फोक्सो सञ्चालनको अवस्था, कृत्रिम श्वासप्रश्वास, रक्तस्राव रोक्ने, नाक, कान, घाँटीको प्राथमिक स्वास्थ्य उपचार, पोलेको वा हड्डी भाँचिएको समस्याबारे कसरी प्राथमिक उपचार गर्नेलगायतको ज्ञान दिइएको अर्यालले बताउनुभयो। सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे र मेलम्ची नगरपालिका तथा भोटेकोशी, हेलम्बु, पाँचपोखरी, जुगल र त्रिपुरासुन्दरी गाउँपालिकालाई बाढी–पहिरोलगायतका प्राकृतिक प्रकोप र विपत्को उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। यस्ता विपत्का क्षेत्रमा सरकारी तवरबाट विपत् जोखिम व्यवस्थापनको पूर्वतयारी केही गरिएको छैन। गैरसरकारी सङ्घसंस्थाले विपत्बाट बच्न र बचाउन सामान्य तालिम मात्रै दिइरहेका छन्। 

सिन्धुपाल्चोकमा वि.सं. २०७१ साउन १७ गतेको जुरे पहिरो, सुनकोशी, भोटेकोशी, मेलम्चीमा बाढीपहिरो, लिदी पहिरो, जम्बु बाढीपहिरो, खाग्दल, घुम्थाङ, भीरखर्क, नागपूजे, पहिरो, फुल्पिङकट्टी, तातोपानी, दुगुनागढी पहिरोजस्ता दर्जनौँ बाढी र पहिरोमा सयौँ व्यक्तिले ज्यान गुमाउनु परेको छ भने सयौँ व्यक्ति अङ्गभङ्ग भएका छन्। यसबाट हजारौँ परिवारको घर र जग्गा बगेका छन्। 

सिन्धुपाल्चोकमा बर्सेनि ठूलो जनधनको क्षति हुदाँसमेत तीनै तहका सरकारले विपत् र जोखिम न्यूनीकरणका काम गरेका छैनन्। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत विपत् हुने क्षेत्र पहिचान र विपत्मा जनधनको क्षति नहुने गरी पूर्वतयारी थालनी गर्ने बताउनुभयो।