• ११ मंसिर २०८१, मङ्गलबार

सवारी जामको निकास

blog

सडकमा सवारी जामको समस्या दिनहुँ बढ्दै गएको छ । यसको समाधानका लागि निकायले वर्षांैदेखि अनेक उपायको खोजी गरिरहेका छन् । प्रयास नभएका होइनन् तर समस्या समाधान भएको छैन । बाटोमा सडक बत्ती राख्ने, जेब्रा क्रस राख्ने, ट्राफिक नियमको पालना गराउने, बाटो फराकिलो पार्ने, विभिन्न खोला किनारामा नयाँ सडक कोरिडोरको निर्माण गर्ने अनेकन प्रयास गर्दा पनि समस्या उस्तै छ । सुझाव दिनेले गाडीको आयात रोक्ने, धेरै कर लगाउने भन्छन् । 

यसरी समाधान खोज्नु विकासको गति रोक्नु हो । भिड हटाएर, सडक खाली गरेर सुरक्षा दिनु ठिक की त्यही भिडमा सुरक्षा प्रत्याभूत गर्नु ठिक ? गरेका प्रयासहरूले सडकमा सवारी जामको समस्या समाधान नगरेकोले पूर्न विचार जरुरी छ । समस्याको मूल जरो पत्ता लगाउनु र मन्थन जरुरी छ । समस्याको सही पहिचान आधा समाधान हो । 

चौबाटोको क्रसिङ

जामको मुख्य कारणको हो चौबाटोको क्रसिङ । चौबाटोमा एउटा बाटोबाट आएको सवारी तीनतिर जान्छ र कुल १२ किसिमको क्रसिङ त्यहाँ हुन्छ । देबे्र जानेलाई बिनाअवरोध जान दिए पनि अझै धेरै क्रसिङ बाँकी रहन्छ । यस्ता ठाउँहरू प्रशस्त छन् र सवारीले रोकिनुको विकल्प छैन । यहाँ बाटो चौडा हुनु र नहुनुले धेरै अर्थ राख्दैन । रातो बत्तीमा जति सवारी रोकिन्छन् त्यति जाम थपिन्छ तसर्थ यस्ता स्थानमा ओभर पास र अण्डर पास नबनाई सुखै छैन । यति गरे आधा समस्या हल हुन्छ । 

लेन स्पिड नतोकिनु

हाम्रोमा चक्रपथको कलङ्की कोटेश्वर खण्ड, अरनिको हाइवेको कोटेश्वर सूर्यविनायक खण्डलगायतका सडकमा स्पिड लिमिट ५० किमि प्रतिघण्टा तोकिएको छ । जहाँँ बाटो फराकिलो छ, जहाँ सवारी सरल ढङ्गले चलाउन सकिन्छ त्यहीँ स्पिड लिमिट तोकिदिनु कत्तिको व्यावहारिक हो ? रिभ्यु किन नगर्ने ? वैज्ञानिक अध्ययन नगरी किन निर्णय गर्ने ? यसैगरी छ लेन, आठ लेनका सडकमा एउटै स्पिड लिमिट कसरी व्यावहारिक हुन्छ ? हरेक लेनको अलग अलग लेन स्पिड किन नतोक्ने ? २० किमि प्रतिघण्टाको दरमा गुड्ने साधनलाई बढी स्पिडमा कुद्ने सक्ने साधनले किन पछ्याइरहनु पर्ने ?

चढाउने र ओराल्ने स्थान 

बाटोमै पछाडिको साधनलाई रोक्नुपर्ने गरेर यात्रुहरू चढाउने र ओराल्ने समस्या छ । यसो गर्दा पछिका साधनलाई कस्तो असर पर्छ ? यहीँ कारणले सडक अवरुद्ध हुन्छ भन्ने ज्ञान किन आएन ? यो अनुगमनको कमी हो ? सार्वजनिक सवारी रोक्ने स्थानमा बाटोका लेनहरू छोडेर यात्रु चढाउने र ओराल्ने पूर्वाधार निर्माणमा सम्बन्धित निकायको ध्यान किन जाँदैन ? केही स्थानमा निर्माण नभएका होइनन् तर अधिकांश स्थानमा निर्माण भएकै छैनन् । 

सवारीअनुसारको लेन 

भारी सवारी, ठूला बस, निजी चारपाङ्ग्रे, मोटरसाइकल, टेम्पो, साइकल सबैलाई एउटै लेनमा चलाउन दिनु कत्तिको व्यावहारिक 

छ ? कतिपय स्थानमा त पैदलयात्रु पनि सँगै हुन्छन् । सबैको गति फरक फरक हुन्छ । स्पिड भेरिएसनले ट्राफिक जामको समस्या निम्त्याउँंदैन र ? सबैखाले सवारीलाई सबै लेनमा चलाउन दिनु कत्तिको जायज 

हो ? सडक लेन केका लागि ? लेन अनुशासन सिकाउनु पर्दैन ? सडकमा ट्राफिक प्रहरी हातमा रसिद लिएर बसेको देखिनु सामान्य भइसक्यो । यहीँ हो ट्राफिक व्यवस्थापन ? यहीँ हो ट्राफिक अनुगमन ? 

पैदल यात्रुमैत्री सडक 

सडक सवारीसाधनको मात्र हो ? पैदल यात्रुको यसका कुनै हक लाग्दैन ? सधैँ ज्यान जोखिममा राखेर बाटो काट्नुपर्ने हो ? यसको समाधान छैन ? सडक निर्माण गर्दा पैदल यात्रुलाई ध्यानमा राखेर किन योजना बन्दैन ? किन पैदल यात्रुको पूर्वाधार बन्दैन ? उदाहरण कलङ्की कोटेश्वर खण्डमा पैदल यात्रुले कहाँबाट बाटो काट्ने ? सडक अपाङ्गमैत्री हुनुपर्ने हो । 

सडकपेटी किन सबैतिर बन्दैन ? बनेका स्थानमा पनि व्यापारी वा सडक सवारीले किन कब्जा गर्छन् ? पैदलयात्रु हिँड्ने पेटीमा सवारी पार्क गरेको देखिनु नौलो भएन । अपाङ्गमैत्री सडक पूर्वाधार हाम्रो लागि टाढाको विषय बनेको छ । पैदल यात्रुलाई ओभर हेड क्रसिङ र अन्डर पास क्रसिङ आवश्यक मात्रामा प्रदान गर्नै पर्छ । 

जानुपर्ने एकातिर तर अर्कैतिर जानुपर्छ । गन्तव्य एकातिर तर घुमेर जानुपर्छ । हामीसँग तेल छैन, महँगोमा किन्नुपर्छ । सडककै डिजाइनको कारण तेल बढी खर्च हुन्छ । प्रदूषण बढ्छ र यसैले जाम बढेको छ । यस्तो सडक किन डिजाइन गर्छौं ? उदाहरण नयाँ बानेश्वरबाट बिजुली बजार धोबी खोला नजिकको दूरसञ्चार जानुपर्दा बबरमहल गएर नघुमी सुखै छैन । 

सडक पार्किङ

सहरमा पार्किङ पूर्वाधार चाहिँदैन ? अफिस खोल्ने, कार्यालय तोक्ने अनि पार्किङ कहाँ सडकमा ? सहरमा सवारीसाधन गुडाउने मात्रै हो, पार्किङ बनाउनु पर्दैन ? व्यस्त बजार क्षेत्रमा कहाँ छ पार्किङ ? धेरै अस्पतालमा कहाँ छ पार्किङ ? 

कुन महानगर, उपमहानगर, नगरपालिकामा पार्किङको योजना र उचित व्यवस्थापन छ ? उदाहरण काठमाडौँ जिल्ला अदालतले पार्किङ बनाउनु पर्दैन ? काठमाडाैँ जिल्ला प्रशासन कार्यालय र ठिमी नगरपालिकालाई पार्किङ चाहिँदैन ? नगरबासीलाई के सन्देश दिन खोजिएको हो ? अर्को पैदलयात्रु हिँड्ने ठाउँमा सवारीसाधन राखिदिनु ठिक हो ? बाटोको एक साइड पार्किङ गराउने चलन प्रायः छ । के यो तरिका राम्रो हो ? एउटा डेडिकेटेट पार्किङ लाइन किन नबनाउने ? 

ठूला सडक, साँघुरा पुल

हाम्रो देशमा सडक चोडा पार्ने होडजस्तै चलेको छ । छ लेनका, आठ लेनका सडक होडबाजी नै छ । राजमार्गबाट प्रायः सबै सहर जाने बाटा धेरै लेनका भए तर पहिलेका साँघुरा पुल कहिल्यै चौडा भएनन् । छ र आठ लेनका सडकमा दुई लेनका पुराना पुलले के सन्देश दिन्छ ? उपत्यकामा पनि यस्तै हाल छ । उदाहरण सुविधानगरको बागमती पुल, अरनिको राजमार्गमा हनुमन्ते पुल । सडक चौडा पार्दा पुल चौडा पार्नु नपर्ने हो ? होइन भने सडक चौडा पार्न हतारिएझैँ पुल चौडा पार्न किन हतारो लागेन ? पुल र सडक सँंगसँगै बन्नुपर्ने होइन ? ठूला सडक बनेको वर्षौंसम्म पुल चोडा नहुनु के हो ? पुल र सडकको चौडाइ एकै हुनुपर्ने होइन ? आठ लेन प्रयोग गरेर आएका सवारीलाई दुई लेनमा प्रवेश गराउँदा ट्राफिक व्यवस्थापन के हुन्छ ? नबिर्सौं पैदल यात्रुले प्रयोग गर्ने पुल पनि त्यहीँ हो । 

कुनै पनि कुरा धान्न नसक्ने भन्ने हुँदैन । बरु अझै प्रश्न गरौँ, उत्तर खोजौँ । यसैमा समाधान निस्कन्छ । आवश्यकता सही व्यवस्थापनको हो, व्यवस्थापनमा आधुनिकीकरणको हो । जनशक्ति, उपकरण, प्रविधि, योजना, पूर्वाधार, साधनस्रोत सबैको पर्याप्तता र समुचित उपयोग आवश्यक पर्छ । नयाँ सोचका साथ अगाडि बढ्नुको विकल्प छैन । 

लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत हुनुहुन्छ ।  

Author

‘अनमोल’ मुरारी पौडेल