जनार्जन खत्री
सर्लाही, वैशाख १ गते । सर्लाहीको बाँके जङ्गल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज होस् भनी ठाउँ–ठाउँमा पानी भरिएको ड्रम राखिएको छ । ‘वनस्पति जोगाऔँ, वन्यजन्तुको संरक्षण गरौँ’ मूल नाराका साथ ईश्वरपुर सचेत नागरिकको तर्फबाट फूलजोर चोकदेखि बाँके चोकसम्मको जङ्गलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको हो ।
अभियानको नेतृत्व गर्नुभएका नेपाली कांग्रेस सर्लाही क्षेत्र १ का पूर्व क्षेत्रीय सभापति प्रमोद बरालले पछिल्लो समय मानिस विकसित भएपछि वनस्पति र जनावरलाई बेवास्ता गरिरहेको अवस्थामा यी दुवैलाई संरक्षण गर्ने उद्देश्यसहित वन्यजन्तुलाई पानी पिउने प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।
बरालले फूलजोरदेखि बाँकेसम्म राजमार्गको छेउमा ड्रमभित्र पानी राखेर जङ्गली जनावरलाई पानी पिउने व्यवस्था मिलाएको बताउनुभयो । वनभित्र पानीको स्रोत नहुँदा जीवजन्तु पानीको खोजीमा मानव बस्तीतर्फ पसिरहेको अवस्थामा स्थानीय तह, डिभिजन वन कार्यालय र सागरनाथ वन विकास परियोजनालाई वनभित्रै पानीको स्रोत व्यवस्थापन गर्न ध्यानाकर्षण गराउने उद्देश्यसहित अभियान सञ्चालन गरेको बरालले बताउनुभयो ।
नयाँ वर्ष २०८० को शुभ अवसरमा शुक्रबार बिहान पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा फूलजोरदेखि बाँकेसम्मको जङ्गल क्षेत्रको विभिन्न ठाउँमा आधा काटिएको ड्रम राखेर पानी भरेर राखिएको छ । बाँके जङ्गलक्षेत्र वन्यजन्तुको बढी ओहोरदोहोर र वासस्थान हुने जङ्गलमा पर्छ ।