• १५ चैत २०८०, बिहिबार

बेसहराको सहारा बन्दै नगरपालिका

blog

तानसेन नगरपालिकाको कार्यालय । फाइल तस्बिर

बिन्दु थापा 

तानसेन, चैत ३० गते । तानसेन नगरपालिका बेसहाराका लागि सहारा बनिरहेको छ । मानवीयताको कुनै सीमा नहुने भन्दै तानसेन नगरपालिकाले बेसहारा जीवन बिताइरहेका बृद्धबद्धाको उद्धार गरेको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जानकारी दिनुभयो । 

उपप्रमुख सिंजालीले भन्नुभयो, “पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दैगएको र उनीहरूलाई सहाराको आवश्यकता परेको थाहा पाएपछि उद्धार गरिएको हो । वृद्धा बिरामी हुँदा साथमा सन्तान नहुँदा मनोवैज्ञानिक प्रभावसमेत परेको छ ।” 

उहाँले भन्नुभयो, “शरीर तन्दुरुस्त हुँदैगर्दा खासै खोजी नभए पनि स्वास्थ्य जटिल बन्दै गएपछि सन्तानको अभावमा थप जटिलता देखिँदो रहेछ ।” तानसेन नगरपालिका –११ बुढिचौरकी ७६ वर्षकी मानकुमारी जोगी कुवरले भन्नुभयो, “सन्तानले उपचारका लागि पर्याप्त रकम पठाउलान्, दुखमा साथ देलान्, बुढेसकालको सहारा बन्लान् भन्ने आशमा छोराछोरी जन्माए पनि बुढेसकाल लागेपछि कोही नहुँदो रहेछ ।” 

उहाँले भन्नुभयो, “अरू बेला त हामी जेनतेन गरेकै थियौँ, बिरामी पर्दा नजिकको नातेदार पाउनसमेत कठिन भयो, तानसेन नगरपालिका –११ का वडा अध्यक्षलाई जानकारी गराएपछि नगरपालिकाले आज आश्रममा ल्याएको छ ।” तानसेन नगरपालिका –११ का दानबहादुर जोगी कुवरले घर छाडेर आश्रममा जानुपर्दा नराम्रो लागेको बताउनुभयो । 

उहाँले विगत सम्झँदै भन्नुभयो “यिनै पाखा पखेरा गरेर छोराछोरी पढाइयो, बढाइयो इष्टमित्र बनाइयो, आज यिनै पाखापखेरा छाडेर जानुपर्‍यो । छोराछोरी भएनन्, भनेर किन दुःखी हुनुपर्‍यो । दुई  सन्तान त हाम्रा पनि थिए गहभरि आँसु लिँदै दुखेसो पोख्नुभयो ।” तानसेन नगरपालिकाले सडकपेटिमा रहेका मानव तथा खान नपाएर भोकै हिँडेकालाई राहत दिने काम गर्दैआएको छ ।