• २७ वैशाख २०८२, शनिबार

‘देशको सुरक्षार्थ सेना सक्षम’

blog

काठमाडौँ, चैत ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा आइपर्न सक्ने चुनौती सामना गर्न नेपाली सेना सधैँ सक्षम रहेको बताउनुभएको छ। भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेटको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा प्रभावको पूर्वानुमान गरी उत्पन्न हुन सक्ने चुनौती सामना गर्न नेपाली सेना सक्षम रहने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संसारभरि नेपाल वीर गोर्खालीको देश भनेर परिचित छ, नेपाली सेनाको वीरता र बहादुरीबाट यो पहिचान हासिल भएको हो। यसलाई कायम गरी राष्ट्रिय सुरक्षा थप सुदृढ बनाउन सेना सधैँ सक्षम छ।”

उहाँले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसलाबाट नेपाली सेनाले आफूलाई उत्कृष्ट रूपमा स्थापित गरेको बताउनुभयो। नेपाली सेनाले प्रदान गर्ने विभिन्न तालिमलाई विभिन्न देशले समेत मान्यता दिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सेनाले प्रदान गर्ने तालिम अरू देशका सेनाका लागि समेत रोजाइमा पर्नु सुखद रहेको बताउनुभयो। अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेटका लागि दिइने तालिमलाई समयसापेक्ष रूपमा अभिवृद्धि गर्दै सेनाले आफ्नो छविलाई थप उच्च पार्दै लाने विश्वास उहाँले व्यक्त गर्नुभयो।

दीक्षित क्याडेटलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले सुरक्षा चुनौतीको सही मूल्याङ्कन गर्दै आइपर्न सक्ने चुनौतीको सामना गरी मुलुकलाई सुरक्षित राख्न हरदम तयार रहन निर्देशन दिनुभयो।  

व्यावसायिक कार्यकुशलताबाट नेपाली सेनाले आमनागरिकको विश्वास जित्न सफल भएको धारणा व्यक्त गर्दै उहाँले तालिमका क्रममा सिकेका अनुभव र विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कनुपर्ने बताउनुभयो। लामो इतिहास बोकेको नेपाली सेनाको आयुक्तको जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नु गौरवपूर्ण उपलब्धि रहेको बताउँदै उहाँले यस अवसरलाई राष्ट्रसेवामा समर्पण गरी गौरवपूर्ण क्षणलाई सैनिक सेवाको अन्तिम घडीसम्म कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। 

नेपालको इतिहासमा नेपाली सेनाले पु-याउँदै आएको अटुट योगदानलाई सदैव स्मरण गरिएको बताउँदै उहाँले यही प्रेरणाबाट नवआयुक्तहरूले मुलुक र नेपाली सेनाको छविलाई थप उचाइमा प-याउने विश्वास व्यक्त गर्नुभयो।

संवैधानिक सरकारको मातहत र निर्देशनमा नेपाली सेनाले व्यावसायिक एवं मर्यादित सङ्गठनका रूपमा स्थापित गर्न खेलेको भूमिकाको प्रधानमन्त्री दाहालले प्रशंसा गर्नुभयो। विभिन्न द्वन्द्वग्रस्त मुलुकको शान्ति स्थापनार्थ नेपाली सेनाले पु-याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रले सुम्पेको जिम्मेवारी उत्कृष्ट र व्यवस्थित रूपमा पूरा गर्न सेना सधैँ सक्षम र तयार रहेको बताउनुभयो।

नेपाली सेनाले आफूलाई बहुआयामिक, सबल, सक्षम एवं सुदृढ सङ्गठनका रूपमा स्थापित गरेको बताउँदै उहाँले विकास र समृद्धिका लागि नेपाली सेनाको सुदृढीकरण र आधुनिकीकरण अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। नेपाली सेनाले प्रदान गर्दै आएका तालिमको आकर्षण बढ्दै गएको र तालिम केन्द्रहरू अपुग हुँदै गएको बताउँदै प्रधानमन्त्री दाहालले त्यसको विस्तारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो।

तालिममा ११ महिला, ७४ पुरुष तथा जाम्बियाका एक अधिकृत क्याडेटसमेत गरी ८६ जनाको सहभागिता थियो। अधिकृत क्याडेटतर्फ उत्कृष्ट कृष्ण खड्का तथा पदिक तथा बिल्लादार अधिकृत क्याडेटतर्फ उत्कृष्ट खगेन्द्र कार्कीलाई खुकुरी तथा महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई प्रधानमन्त्री दाहालले छडी प्रदान गर्नुभयो।

सैनिक प्रतिष्ठानबाट हालसम्म २५२ महिलासहित पाँच हजार ३२० जना अधिकृत क्याडेटले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन्।