• १३ असोज २०८१, आइतबार

आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको सांसदको प्रतिक्रिया

प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष रहन्छ : सांसद सापकोटा

blog

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा ।

काठमाडौं, चैत २९ गते। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तीन वर्ष चल्ने बताउनुभएको छ। 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार आगामी तीन वर्षसम्म चल्ने बताउनुभएको हो। उहाँले वर्तमान सत्तारुढ गठबन्धन निर्माण गर्दा नै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन वर्ष सरकार चलाउने सहमति भएको दाबी गर्नुभयो।

सापकोटाले भन्नुभयो, “ शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बन्छ। आलोपालो सरकार भनेका छौँ। हामीले घोषित रुपमै कुरा गरेका छौँ। त्यसैले पहिलो चरणको सरकारको नेतृत्व प्रचण्डले गर्नुहुन्छ, गरिरहनुभएकै छ। त्यसपछाडी, शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्छ।”

उहाँले गठबन्धनका दलका बीचमा अविश्वास नरहेको स्पष्ट पार्दै पूर्व समझदारी अनुसार नै सरकार अगाडी बढीरहको बताउनुभयो। “टिआरसी टुङ्ग्याउनका निमित्त प्रचण्ड र शेरबहादुर स्वयंले सभामुख र प्रमुख प्रतिपक्षसँग संयुक्त रुपमा डिल गरिराख्नुभएको छ। हिजो जे विगतमा समझदारी विकास गरिएको थियो। सो समझदारी अनुसार नै गइराखेको छ”, सापकोटाले भन्नुभयो। 

यस्तै, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताउनुभयो। उहाँले अहिले नेपाली कांग्रेसले सत्ता लिइहाल्ने अवस्था नरहेको बताउनुभयो।

खतिवडाले भन्नुभयो, “हामी हिजो जे कुरामा प्रतिबद्ध थियौं। आज पनि त्यही कुरामा प्रतिबद्ध छौं। कांग्रेस फेरि नेतृत्वमा आउने अवसर प्राप्त गर्यो। राष्ट्रपति पायो। गठबन्धनबाट गुमेको थियो। अरु पद पनि पाएको छ। यो हाम्रो लागि सुखद् हो भन्ने सेन्समा भनेको हो।”

उहाँले सरकारले जनअपेक्षा अनुसारका राम्रा कार्यक्रम ल्याओस् भन्ने कांग्रेस सांसदको चाहना रहेको भन्दै सोही कारण कहिलेकाहीँ सरकारलाई आलोचनात्मक सुझाव दिने गरिएको बताउनुभयो।