• ९ जेठ २०८१, बुधबार

मच्छिन्द्रको फराकिलो जित (फोटो फिचर)

blog

गोल गरेपछि मच्छिन्द्रका खेलाडी । तस्बिरहरु : केशव गुरुङ

काठमाडौं, चैत २८ गते । साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फराकिलो जित निकालेको छ । च्यासल फुटबल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुलमटार एफसीलाई ७-३ गोलले हरायो ।

मच्छिन्द्रको फराकिलो जितमा ओलावाले आफिजले ह्याट्रिकसहित पाँच गोल गर्नुभयो । ओलावालेको यो लिगकै पहिलो ह्याट्रिक हो । विमल घर्तीमगर र  विजय भुजेलले एक एक गोल थप्नुभयो ।

खुमलटारका लागि मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल गर्नुभयो । जारी लिगमा यो सबैभन्दा धेरै गोल भएको खेल पनि हो । जितसँगै मच्छिन्द्रले आठ खेलबाट १२ अङ्क बनाएको छ । पराजित खुलमटारको समान खेलबाट सात अङ्क पुगेको छ । 

यसैगरी एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लबले जावलाखेल यूथ क्लबलाई ३–१ गोलले पराजित गरेको छ । लिगमा आर्मीको यो तेस्रो जित हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गर्नुभयो ।

जावलाखेलका सुनिल खड्काले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै आर्मीले आठ खेलमा १२ अङ्क बनाएको छ । जावलाखेलको समान खेलबाट १४ अङ्क छ ।