• १३ मंसिर २०८१, बिहिबार

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह : व्यापारमा भन्दा उत्पादनमूलक उद्योगमा लगानी केन्द्रित गर्नुस्

blog

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधरण सभामा आफ्नो धारणा राख्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : सुजन गुरुङ

काठमाडौं, चैत २८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ ।

मङ्गलबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभामा आफ्नो धारणा राख्नुहुँदै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले सरकारको पनि प्रभावकारिता र पारदर्शिता बढाउन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले निजी क्षेत्रले उत्पादनमुलुक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउनका लागि अल्पकालीन, मध्यकालिक र दीर्घकालीन उपायहरूको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारका पनि कमी कमजोरीहरू रहेका छन् । सरकारले समयमा नै खर्च गर्नसकेको छैन । त्यो स्वीकार गर्नुपर्छ । समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ । राजनीतिक, निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ । त्यसैले सरकारको प्रभावकारिता बढ्न जरुरी छ । पारदर्शिता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ । अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ । सरकारले लगानीको वातावरण सहज बनाउनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू गर्छौँ ।’’

अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास, रूपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘विश्व अर्थतन्त्रको माहौलमा ४ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुनेछ । तर अन्य धेरै देशहरूमा त्यस्तो अवस्था छैन । यदि अन्तर्राष्ट्रिय परिस्थिति युद्धको बादल अन्त्य भयो भने नेपालमा आर्थिक, रूपान्तरण, पुँजी विकास विकास, उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न सकिन्छ । वर्तमान आर्थिक समस्या समाधान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अपनाइरहेको छ । अल्पकालिक सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने हुनेछ ।’’

अर्थमन्त्रीले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधारण खर्चलाई कम गर्नेमा रहेको बताउनुभयो । उहाँले सरकारले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने जानकारी दिनुभयो ।

उहाँले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले  निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने भन्दै सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनु भयो ।

‘‘साधारण खर्चलाई निर्ममतापूर्वक कम गर्छौँ । साधारण खर्चमा तलब भत्ता मात्रै छैन । सामाजिक सुरक्षा, शिक्षा स्वास्थ्य लगायतका सुविधाहरू रहेका छन् । त्यसमा सरकारले खर्च कम गर्न सक्दैन । सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाएर आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्नेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने हो । सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने हो । कानुनी कठिनाइहरूलाई सहज बनाउने हो । प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने हो । वैदेशिक लगानीको प्रवर्द्धन गर्ने हो ।’’

अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले कोभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको जानकारी दिनुभयो । उहाँले मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजश्वमा दबाब तथा बैङ्कको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताउनुभयो । अर्थमन्त्रीले सबै समस्याको समाधान गर्न राष्ट्र बैङ्कको मौद्रिक नीतिमा समीक्षा, निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैङ्कसँग आन्तरिक छलफलमा रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताउनुभयो ।