• १० मंसिर २०८१, सोमबार

वडा तहमै मतदाता शिक्षा प्रदान गरिने

blog

मतदाता शिक्षाको लागि तयार हुँदै महिला स्वस्थ्य स्वयंसेविकाहरु । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, चैत २७ गते । वैशाख १० गते यहाँ हुने उपनिर्वाचनको लागि वडा तहमै मतदाता शिक्षा प्रदान गरिने भएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले वडा स्तरमै जनशक्ति परिचालनको लागि प्रशिक्षण दिन थालेको छ । मतदाता शिक्षाको लागि प्रत्येक वडामा महिला स्वस्थ्य स्वयंसेविका परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा सहजीकरण तालिम प्रदान गर्न थालिएको उहाँले जानकारी दिनुभयो । स्वयंसेविकालाई सिकाइ सामाग्री सहित तनहुँ–१ को पाँच वटै पालिकामा रहेका ४२ वडामा खटाईने छ । एक वडामा दुई जना गरी ८४ जना स्वास्थ्य स्वयंमसेविका खटाईने र  पाँच पालिकाको लागि पाँच जना अनुगमन अधिकृत समेत खटाईने भएको छ । 

माध्यामिक शिक्षा परीक्षा पास महिला स्वास्थ्य स्वयंसेविकालाई मात्रै तालिमको लागि छनोट गरिएको छ । सोमबार व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकामा स्वएम् सेविकालाई तालिम प्रदान गरिएको छ । मतदान गर्न सिकाउने र बदर मत कम गर्न मतदाता शिक्षाले सहयोग पु¥याउने निर्वाचन अधिकारी ढकालले बताउनुभयो । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्यको काम गरिरिहेकोले पनि मतदाता शिक्षा पनि घरघरमै पुगेर सिकाउन सक्ने भएकाले निर्वाचन आयोगले उहाँहरुलाई परिचालन गर्न भनिएको तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ ।

स्वयंसेवकहरुले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिनेछन् । घरदैलोमा मतदान गर्ने तरिका सहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसरहरु वितरण गरिनेछ । 

मतदानको महत्व, मतदान कसरी र किन गर्ने, आचारसंहिताको महत्व वलगायत आधारभूत कुराहरू समेटिएको सामग्री दिएर मतदातालाई भन्नैपर्ने कुराहरू जानकारी गराइने जनाईएको छ । उनीहरुले सबै जात, जाति, लिङ्ग वर्ग वा समुदायका मतदातालाई उप निर्वाचन सम्बन्धि जानकारी गराउँदै निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचन सम्बन्धि राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने जिल्ला निर्वाचन कार्यालय तनहुँका सूचना अधिकारी धिरेन्द्रबहादुर शाहीले बताउनुभयो ।

मङ्गलबार भानु, नगरपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका स्वएम् सेवकहरुलाई तालिम प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।मतदाता शिक्षा कार्यको निर्वाचन आयोगको आयुक्त जानकारी कुमारी तुलाधरले उद्घाटन गर्नुभयो । सो अवसरमा तुलाधारले स्वयं सेविकाहरुलाई सिकेको सीप व्यवहारमा उतारेर प्रभावकारी शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो । 

व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उपनिर्वाचनमा धेरै उम्मेदवार नहुने र समानुपातिकको मत पनि खसाल्न नपर्ने भएकोले मतदान गर्ने तरिका बुझाउन सजिलो हुने भएकोले स्वयंसेविकाले राम्रोसँग शिक्षा प्रदान गरेर मत बदर कम गर्न ध्यान दिनु पर्ने बताउनुभयो । 

निर्वाचन आयोगले गाउँ गाउँ, टोल टोलमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने नीति आयोगले लिएको छ । मतदातालाई मतदानको बारेमा सुसूचित गराई व्यापक सहभागिता सुनिश्चित गर्ने उद्येश्यले मतदाता शिक्षा प्रदान गरिएको हो ।