• १२ असार २०८१, बुधबार

राष्ट्रिय सभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित

blog

काठमाडौं, चैत २७ गते । राष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।

यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

प्रस्तावमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले राष्ट्रियसभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधि सभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताउनुभयो । यसअघि प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक २०७८/७९ प्रतिवेदन  प्रस्तुत गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही चैत ३० गते बिहीबार दिनको १ बजेर एक मिनेटमा बस्नेछ ।