• ४ जेठ २०८१, शुक्रबार

व्यवसायले स्थानको परिचय दिन सकोस् : अध्यक्ष काफ्ले

blog

कार्यक्रमको उद्घाटन गर्नुहुँदै चन्द्रपुर नगरप्रमुख सञ्जय काफ्ले । तस्बिर : यादवराज पुुरी

यादवराज पुरी
रौतहट, चैत २७ गते ।
 चन्द्रपुर नगरपालिकाका अध्यक्ष सञ्जय काफ्लेले व्यवसाय यस्तो होस् जसले स्थानको परिचय दिन सकोस् भन्नुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ रौतहटले सोमबार आयोजना गरेको प्रथम जिल्ला अधिवेशन कार्यक्रममा उहाँले उक्त धारणा राख्नु भएको हो ।

प्रमुख अतिथि समेत रहनु भएका पालिका अध्यक्ष काफ्लेले पर्यटन क्षेत्रको विकास नै होटल व्यवसाय सफल हुने आधार हो भन्नुभएको छ । रौतहटमा पर्यटन उद्योगको सम्भावना अधिक रहेको औँल्याउनुहुँदै अध्यक्ष काफ्लेले ती पर्यटकीय क्षेत्रको विकास, विस्तार र प्रचारप्रसार हुन सके चन्द्रपुर नगरपालिकाको नाम पनि प्रसिद्ध हुने बताउनुभयो ।

पर्यटकको आवागमन बढेमा होटल व्यवसाय फस्टाउने भएको हुँदा होटल र पर्यटन व्यवसाय एक अर्काका परिपूरक रहेको बताउनुहुँदै उहाँले पछिल्लो समय बैङ्कको चर्को ब्याजदरका कारण व्यापारीहरू मर्कामा परेका र पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले उक्त समस्याको समाधानका लागि कार्यपालिका बैठकमा छलफल गरी ठोस निर्णय लिने आश्वासन समेत दिनुभएको छ ।

यसैबीच उहाँले चन्द्रपुर नगरपालिका भित्रको पर्यटकीय स्थल भूमाफियाको कब्जामा पर्दै जानलागेकोले यसको विरुद्धमा सिङ्गो नगरवासीले खबरदारी गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख झपेन्द्रप्रसाद चापागाईँले पर्यटन व्यवसायको सम्भाव्यता अध्ययन गरी लगानी गर्नु पर्ने धारणा राख्नु भएको छ । कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यवसायी सङ्घ रौतहटका अध्यक्ष शिवराम राउतले गर्नु भएको थियो ।