हरि काेइराला
उर्लाबारी, चैत २७ गते । नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष विक्रम निरौलालाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बीबीसी नेपाली सेवाको विराटनगरका सम्वाददाता निरौलाले पाउनुभएको पुरस्कारको राशि ५१ हजार एक सय रुपियाँ हो ।
यस्तै, उदीयमान पत्रकारिता पुरस्कार उषा सरदारलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ३१ हजार एक सय रुपियाँ रहेको छ । सरदार ग्रामीण जागरण साप्ताहिक र मकालु टेलिभिजनमा काम गर्नुहुन्छ ।
पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रह्लादप्रसाद साहले स्थापना गर्नुभएको कोषले सिर्जनशील पत्रकारिता पुरस्कार हरेक दुई-दुई वर्षमा र उदीयमान पत्रकारिता पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङको सभा हलमा सोमबार विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला र कोषका अध्यक्ष साहले दुवै पुरस्कार संयुक्त रूपमा प्रदान गर्नुभएको हो ।