• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

संसद् भवन ।

काठमाडौं, चैत २७ गे । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व २०७८/७९’’ पेश गर्नुहुने छ ।

त्यस्तै, सञ्चार तथा सूचचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

यसैगरी, राष्ट्रिय सभा बैठक पनि संसद् भवनमा जारी रहेको छ । दिउँसो १ बजेर १ मिनेटबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ पेश गर्नुहुने छ ।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।