• १२ मंसिर २०८१, बुधबार

प्रतिस्पर्धी जनशक्ति तयार गर्न आग्रह

blog

लक्ष्मणदत्त पन्त 

महेन्द्रनगर, चैत २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ भन्नुभएको छ । 

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्न सक्ने हुनुपर्ने उहाँले बताउनुभयो । 

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयले देशको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको बताउनुभयो । लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढङ्गले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई अगाडि बढाई देशलाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको विकासका लागि ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । 

सुदूरपश्चिममा शैक्षिकलगायत अन्य विकासका कामका लागि आफू र आफ्नो नेतृत्वको सरकारले कुनै कसर नराखेको र अबका दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । 

उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालयको फाइल अगाडि बढाएको स्मरण गर्दै भन्नुभयो, “विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।”

नेपाल सरकारले २०७८ माघ १० गते डडेल्धुरामा यस विश्वविद्यालयको आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायका रूपमा रहने गरी स्वास्थ्य मन्त्रालय, शिक्षा तथा विज्ञान एवं प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको जानकारी दिनुभयो । 

“विश्वविद्यालयको शिक्षासमेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्छ,” उहाँले भन्नुभयो, “विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरुरी रहेको छ जसका लागि मैले गर्नुपर्ने आवश्यक सहयोगका लागि म तयार छु ।” 

समारोहका प्रमुख अतिथि भारतको उत्तर प्रदेशस्थित महात्मा ज्योतिबा फुले रुहेलखण्ड विश्वविद्यालयका कुलपति प्रा. केपी सिंहले सुदूरपश्चिम विश्वविद्यालयले छोटो समयमा नै राम्रो गुणस्तरीय जनशक्ति उत्पादन गरेर नाम कमाएको भन्दै प्रशंसा गर्नुभयो । 

“विश्व विश्वविद्यालयले राम्रो नाम कमाएको छ, हाम्रो विश्वविद्यालयबाट हुने जुनसुकै किसिमको सहयोग र सहकार्य गर्न हामी तयार छौँ,” उहाँले थप्नुभयो, “यस विश्वविद्यालयबाट हाम्रो विश्वविद्यालयमा विद्यार्थी पढ्न आएमा छात्रवृत्तिको व्यवस्था दिनेछौँ ।” 

समारोहका विशिष्ट अतिथि एवं सुदूरपश्चिम विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई अझै सशक्त बनाएर लैजानुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रत्यक्ष रूपमा १७९ जना विद्यार्थी सहभागी भएका थिए । दीक्षान्त समारोहमा उपस्थित हुन योग्य ८५५ जना रहे पनि आवेदन १७९ को आवेदन आएको उपकुलपति प्राडा अम्बादत्त जोशीले बताउनुभयो । समारोहमा एक जना विद्यार्थीलाई चान्सलर, एक जनालाई भ्वाइस चान्सलर र १० जनालाई स्वर्ण पदक प्रदान गरिएको परीक्षा नियन्त्रक देवसिंह नाथले बताउनुभयो ।