• १३ मंसिर २०८१, बिहिबार

दलका लागि प्रतिष्ठा बन्दै उपनिर्वाचन

blog

चितवन समाचारदाता

चितवन, चैत २७ गते । चितवन निर्वाचन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीनवटा राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन्। 

नेकपा एमाले पार्टीको प्रभाव रहेको मानिएको यस निर्वाचन क्षेत्रमा गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएपछि पुरानो साखलाई जोगाउन एमाले लागिपरेको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जित हासिल गर्नेमा आशावादी छन्। 

यसअघि विजयी भएका रास्वपाका सभापति लामिछानेको प्रभावमा केही कमी भए पनि जित भने सुनिश्चित रहेको सो पार्टी सम्बद्ध नेता कार्यकर्ताको भनाइ छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवन–२ को परिणाम यस पटक कांग्रेसको पोल्टाबाट अरूले लैजान नसक्ने दाबी गर्नुहुन्छ। “रविजीको क्रेज घटेको छ,” उहाँले भन्नुभयो। 

एमालेले यस पटकको उपनिर्वाचनमा एमालेको विरासत फर्काउने बताउँदै आएको छ। एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नागरिकता र पासपोर्टका विषयमा चितवनका जनताले राम्रोसँग बुझेका र अब नझुक्किने बताउनुभयो। यसअघि एमालेका उम्मेदवारले दुई पटक निर्वाचन जितेकाले त्यो विरासत यस पटक फर्काएर छाड्ने बाँस्कोटाको दाबी छ। 

बास्कोटा एक महिनादेखि चितवनमा ग्रासरुट अभियानमा सक्रिय हुँदै आउनुभएको छ। उपनिर्वाचनमा परिचालन गर्ने नेतृत्वसमेत उहाँले लिनुभएको छ। स्थानीय तहका नेता तथा कार्यकर्ताको समस्या असन्तुष्टि बुझेर पार्टीलाई सक्रिय बनाउन लागेको उहाँले बताउनुभएको छ। 

स्वतन्त्र पार्टीका सभापति लामिछानेले जनताको विश्वास आफूमा रहेकाले त्यो विश्वासलाई कायम राख्नेगरी काम गर्ने बताउनुभयो। “थोरै समय सरकारमा रहेर काम गरेको जनताले बुझ्नुभएको छ, त्यसैले यस पटकको निर्वाचनमा काम गर्नका लागि मलाई पठाउनुहुनेछ भन्नेमा ढुक्क छु,” उहाँले भन्नुभयो। एमाले, कांग्रेसको निशाना भने रवि लामिछाने र रास्वपा रहेको छ। चुनावी भाषण नै लामिछाने केन्द्रित बनाउँदै आएका छन्। लामिछानेको नागरिकता र पासपोर्टको कमजोरीलाई चुनावी एजेन्डा बनाएका छन्। 

जनताले भने पहिलो निर्वाचनभन्दा उपनिर्वाचनमा लामिछानेको मत कमी आउन सक्ने प्रतिक्रिया दिएका छन्। भरतपुर निर्वाचन क्षेत्र नं. २ घर भएका प्राध्यापक रमेश श्रेष्ठले हिजोभन्दा अहिले लामिछानेप्रतिको धारणा जनतामा फेरिएको पाएको बताउनुभयो। “पार्टीको एजेन्डाभन्दा कसरी सरकारमा जाने भन्ने मात्र ध्यान केन्द्रित रहेको, नागरिकलाई झुक्याएको जस्ता विषयमा प्रस्ट जवाफ दिन नसकेको अवस्था रहेकाले क्रेज घटेको पाउन सक्छौँ,” उहाँले भन्नुभयो। 

गत मङ्सिर ४ गतेको निर्वाचनमा ३४ हजार २८१ मतान्तरले लामिछाने निर्वाचित हुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गर्नुभयो। एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत ल्याउनुभएको थियो। अहिले लामिछानेसँग एमालेबाट चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसबाट निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रनुभएको छ। चितवन–२ बाट २०७० र २०७४ सालमा एमालेका नेता कृष्णभक्त पोखरेल निर्वाचित हुनुभएको थियो। 

२९ मतदान स्थल अति संवेदनशील

चितवनको निर्वाचन क्षेत्र नं. २ का ४३ मतदान स्थलमध्ये २९ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशील छन्। सबैको चासो र ध्यान केन्द्रित हुने भएकाले स्थलमा सुरक्षा व्यवस्था कडा बनाउनेछौँ,” उहाँले भन्नुभयो।