• ११ जेठ २०८१, शुक्रबार

मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता भोलि पुनः हुने

blog

फाइल तस्बिर

काठमाडौं, चैत २६ गते। मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार (भोलि) बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो। 

वार्तामा सङ्घर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै भोलि पुन वार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको थियो। 

वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान-मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताउनुभयो। उहाँले वार्तामा आफूहरूको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताउनुभयो।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ। पीडित पक्षले मिटर ब्याज असुली गर्नेलाई कडा कारबाही हुनुपर्ने, उनीहरूले आफूहरूमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन्।