काठमाडौं, चैत २६ गते । संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो।
तत्कालीन पञ्चायती शासक राजनीतिक दलमाथिको प्रतिबन्ध फुक्का गर्न राजी भयो । त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए ।
खुसीयाली मनाइरहेका जनसमुदायको त्यस घडीको एउटा फोटोले त्यसबेला निक्कै चर्चा बटुल्यो - त्यतिखेरको राजनीतिक माहौल र जनभावना प्रतिबिम्बित गर्न सकेको भनेर । प्रतिबन्धित दलका झण्डामाझ सेतो पहिरनमा रहेकी एक महिलाले उल्लासमा दुवै हात उठाइरहेको फोटो थियो त्यो । ती महिला दुर्गा थापा हुनुहुन्थ्यो ।
त्यस ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गर्नुभएका फोटो पत्रकार मीनरत्न बज्राचार्य भन्नुहुन्छ, “निरङ्कुशताविरुद्धको जनताको ऐक्यबद्धताका साथसाथै जनबल कति शक्तिशाली हुन्छ भनेर पनि सन्देश दिन सकेको भनेर राजनीतिक विश्लेषकले यस फोटोलाई हेरेर अर्थ्याउने गरेका छन् ।” त्यो फोटो समग्र जनआन्दोलनकै प्रतीक बन्यो ।
चैत २७ गतेको दिन खुलामञ्चबाट आफूले क्यामेराको ‘सटर स्पिड’ दबाउँदै गर्दा लेन्समा देखापरेपछि अनायासै तिनै महिलाको केही ‘सट’ खिचेको उहाँ स्मरण गर्नुहुन्छ ।
यो फोटो जताततै छापिन थालेपछि छविकार बज्राचार्य र आन्दोलनकारी थापा दुवै चर्चित बन्नुभयो । थापाले २०६२-६३ को जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाउनुभएको थियो । त्यस बखत भीडको माझ अबीरले रङ्गिनु भएका उहाँको फोटो समेत पत्रकार बज्राचार्यले खिच्न भ्याउनुभएको थियो । थापालाई ६२-६३ को जनआन्दोलनसम्मै सञ्चारकर्मी विशेष गरी फोटो पत्रकारहरूले पछ्याइआएका थिए ।
थापा हिजोआज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत (तेस्रो तह) मा कार्यरत हुनुहुन्छ । ६२÷६३ सालको जनआन्दोलनताका तरुण दलको जिल्ला सदस्य रहनुभएका उहाँ लोकतन्त्र बहालीको आन्दोलनमा आफू थुप्रै पटक गिरफ्तारीमा परेको सुनाउनुहुन्छ ।
विद्यार्थी छँदादेखि उहाँ राजनीतिमा लाग्नुभयो । समाज रूपान्तरणको सङ्घर्षमा होमिएर धेरै कष्ट उठाएको बताउनुहुने उहाँ अहिले कुनै नेताले आफ्नो त्यस बखतको समर्पणलाई सम्झेर स्याबासी दिए त्यसैलाई पुरस्कार ठान्छु भन्नुहुन्छ ।
विषयवस्तुसँग तादात्म्यता राख्ने भएका कारण कतिपय लेखकले आफ्नो पुस्तकको आवरणलाई यो फोटोले सजाएका छन् । ‘डन अफ डेमोक्रेसी’, ‘नेपालस् स्ट्रगल फर डेमोक्रेसी’, ‘दि डान्सिङ डेमोक्रेसी’ पुस्तक केही उदाहरण हुन् । केही पुस्तक प्रकाशोन्मुख रहेको बुझिएको छ । कतिपयका गीति एल्बममा पनि यो फोटो परेका छन् । समाचारसँगसँगै यो फोटोलाई छाप्ने अखबार र पत्रपत्रिका बग्रेल्ती छन् ।
यही फोटोलाई अब फेरि ‘मुनाल’ भू-उपग्रहमा टाँस्न आफूसँग अनुमति मागिएबाट बज्राचार्य खुसी हुनुहुन्छ । “अन्तरिक्षमा पठाउने भनी प्लस २ का विद्यार्थीको एक समूहले तयार गरेको नेपालको भू-उपग्रहमा यस फोटोले ठाउँ पाए त्यो अर्को सन्तोषको विषय हुनेछ”, प्रफुल्ल हुँदै बज्राचार्यले भन्नुभयो ।