• १३ मंसिर २०८१, बिहिबार

अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

blog

प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका मीरा चौधरीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, चैत २६ गते। प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चार जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयअनुसार उहाँहरू पदोन्नति हुनुभएको हो।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गरी प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक बन्न आग्रह गर्नुभयो।

महानिरीक्षक कुँवरले भन्नुभयो, “सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारी मनग्यै छन्, तिनलाई केन्द्रबिन्दुमा राखी नेपाल प्रहरीका कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु।” 

प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै माथिल्लो विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताउनुभयो। सम्भावित अराजकतालगायतका कानुनविरुद्धका गतिविधिको आङ्कलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उहाँले प्रहरी अधिकृतलाई निर्देशनसमेत दिनुभयो। 

समारोहमा पदोन्नति भएकाको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवक र कर्तव्य बोधको थप ऊर्जा प्राप्त भएको तथा सङ्गठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिबद्ध रहने विचार व्यक्त गर्नुभयो। 

उहाँले सङ्गठनप्रति सदैव इमान्दार, बफादार र पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न गराउन सदैव कृत सङ्कल्पसित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। रासस