मीना कँडेल
कावासोती, चैत २६ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरमा 'टाइम कार्ड' लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयले दिने सबै प्रकारका सेवा राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखालगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
त्यस्तै, ज्येष्ठ नागरिक, अशक्त, र दुधे बालकसहितको महिलालाई लाइनमा नराख्ने तथा ७५ वर्षमाथिका नागरिकलाई सहयोगी लगाएर सेवा दिन सुरु गरिएको छ । सिफारिस सम्बन्धी काम १ घण्टाभित्र दिने गरी समय तोकिनुका साथै मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र सक्ने नीति लागू गरिएको छ ।
कार्यालयमा कुन सेवालाई कति समयभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको हो । “आवश्यक कागजात पुगेको अवस्थामा १ घण्टाभित्र नागरिकता, नाबालकको प्रमाणपत्र १ घण्टामा र राष्ट्रिय परिचयपत्रका लागि पनि १ घण्टाभित्र कार्य सक्ने व्यवस्था गरेका छौँ,” प्रजिअ लम्सालले भन्नुभयो, "कागजात पुगेको वा नपुगेको चेक गरेर टाइम कार्ड दिइनेछ ।"
यस्तै, प्रजिअ लम्सालका अनुसार राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा १२ जना, राहदानीमा र नागरिकता एवं प्रतिलिपि सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिइएकाले सेवा लिन आएका सेवाग्राहीहरूले तोकिएको समयमा सेवा पाउनेछन् ।
नयाँ बनेको जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व) को जिल्ला प्रशासन कार्यालय अहिले भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको छ । ‘टाइम कार्ड’को व्यवस्था परीक्षणको रूपमा लागु गरिएको र आवश्यकताका आधारमा परिमार्जन गरिने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।