• १३ मंसिर २०८१, बिहिबार

गोरखापत्र अनलाइन प्रभाव

बास पाउँदै दानबहादुर

blog

बाबुराम शर्मा 

दोलखा, चैत २५ गते । पाटीको बास भएका दोलखाको तामाकोशी गाउँपालिका–१, भीरकोट माझी गाउँका ६५ वर्षीय दानबहादुर माझीले बस्ने बास पाउने हुनुभएको छ। गत चैत १३ गते गोरखापत्र अनलाइनमा प्रकाशित सडकले सुकुम्बासी बनाएपछि बिचल्लीमा दानबहादुर शीर्षकको प्रभावले वडा कार्यालयले घर बनाइदिने भएको हो।

वडाध्यक्ष वसन्त थापाले भन्नुभयो, “घर निर्माणका लागि वडाले डेढ लाख रुपियाँ छुट्याइसकेको छ। चरीकोट–मन्थली सडकखण्डको जग्गामा घर निर्माण हुनेछ। बस्न र भान्साको लागि छुट्टाछुट्टै साना दुईवटा घर बन्नेछन्। घर बनेपछि आवश्यक खाट, टेबुललगायतका सामग्री मेरैतर्फबाट दिन्छु। खानका लागि अपाङ्गता भएका दुवैलाई भत्ताको व्यवस्था गर्ने तयारी पनि भइरहेको छ।” 

माझीका लागि बास मात्र होइन, भोकमारी पनि टड्कारो समस्या रहेको छ। पीडित माझीको निमुखा हुँदा, आफन्त तथा भाग्यले ठगेको र आफ्नो पहुँच नपुग्दा पाटीको बास भएको दुःखेसो छ। “सडकको मुआब्जा पनि दाजुभाइले खाइदिए। सडकको १५ मिटरमा सानो छाप्रो मुस्किलले बनाएको थियो। भूकम्प अनुदानको रकम आए पनि जग्गा नहुँदा पाइएन। निमुखा र गरिबलाई ईश्वरले पनि ठग्दो रहेछ,” उहाँले भन्नुभयो। 

यो पनि पढ्नुहोस

सडकले सुकुम्वासी बनाएपछि बिचल्लीमा दानबहादुर माझी

माझीले भूकम्पमा टहरो बनाउन धुर्मुस सुन्तली फाउन्डेसनबाट २४ वटा जस्तापाता पाउनुभएको थियो। त्यो पनि चोरिएको उहाँले बताउनुभयो। गरिबीका कारण दानबहादुर माझी १२ वर्षको उमेरमा मुग्लान पस्नुभएको थियो। उहाँले भन्नुभयो, “त्यहाँ भारी बोक्दा गोडा भाँचियो, अहिले खँज्याहा छु। अहिले मलाई न गरी खानु न मरिजानु भएको छ।” एक्लो छोरो दानबहादुर मुग्लानबाट २५ वर्षमा घर फर्कंदा न आमाबाबु न धनसम्पत्ति बाँकी थियो।