बाबुराम शर्मा
दोलखा, चैत १३ गते । चरिकोट–मन्थली सडक खण्ड निर्माणका क्रममा आफ्नो घरबारी नै सडकमा परेको भन्दै मेटिदिएपछि तामाकोसी गाउँपालिका–१ भिरकोट माझी गाउँका ७० वर्षीय दानबहादुर माझी अहिले सुकुम्वासी भएका छन् । उहाँ हिजोआज मन्दिर र सडकमा बास बस्दै आएका छन् । एक टुक्रो पनि जग्गा नराखी सडक विभागले आफूलाई सुकुम्वासी बनाएको र मुआब्जा समेत टाठा दाजुभाइले लिएपछि उनी सडकको पेटीमा बास बस्न बाध्य भएका छन् ।
अहिले उहाँसँग घडेरीको टुक्रा पनि छैन । भूकम्पमा टहरो बनाउन विभिन्न निकायबाट २४ वटा जस्तापाता पाएको थिएँ । त्यो पनि चोरी दिए । बनाउने जग्गा पनि भएन, आँखाबाट तर तर आँसु चुहाउँदै भन्नुभयो, सबैतिरबाट ठगिँदै ठगिँदै अहिले यो अवस्था भयो । न घर न घाटको भएँ । अरूको देख्दा भकानो फुटेर आउँछ । भाग्य कस्तो लिएर जन्मेछु । दशैँ तिहार आउँछ तर कस्तो हुन्छ भन्ने नै थाहा छैन ।
गरिबीको कारण दानबहादुर माझी १२ वर्षको उमेरमा मुगलान पस्नु भएको हो । उहाँले भन्नु भयो,त्यहाँ एक क्विन्टलको भारी बोकाइदिँदा गोडा भाँचियो । अहिले मलाई न गरी खानु न मरी जानु भएको छ । म एक्लो छोरो हुँ ।करिब २५ वर्षमा घर फर्कँदा न आमाबाबु न धन सम्पत्ति पाएँ । कमाएर ल्याएको सानो रकमले घर बनाएँ । उहाँले मुख नियाउरो लाएर भन्नुभयो, घरको छाना तथा झ्याल ढोका समेत पनिचोरेर लगिदिए । सडकको १५ मिटरभित्र फेरि सानो कटेरो बनाएँ । विवाह पनि गरेँ । त्यसपछि तीन छोरी एक छोरो जन्मियो ।
परिवार पाल्नलाई धौ धौ हुन थाल्यो । उहाँले भन्नु भयो, आफू काम गर्न नसक्ने,श्रीमती पनि बिरामी । छोरीहरू अरूको घरमा काम गर्न राखेँ । बढ्दै गएपछि अहिले छोरीहरू लाखापाखा लागिसके । तीन जनाको परिवार छौँ । न पैसा न अन्न हुँदा छोरो भोक लाग्यो भन्छ, माटो खुवाउने अवस्था आयो । भएको कटेरो पनि चुहिन थाल्यो ।त्यहाँ मागेर खान पनि दिने मान्छे भएन र यो पाटीमा आएको हुँ ।यहाँ भोक टार्ने मात्र भएको छ । पैसा नहुँदा पाउने सामाजिक सुरक्षा भत्ताको समेत दाबी गर्ने सकेको छैनँ ।
भत्ता आए पनि त बिहान बेलुकाको छाक टार्न पुग्थ्यो । धिक्कार कर्म भन्दै उहाँले भन्नु भयो, संविधानमा गाँस, बास,कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत पाउनुपर्ने उल्लेख भन्छन्, गरिबलाई हुँदो रहेनछ । देशको नागरिक त हुँ तर नागरिक भएर बाँच्न पाइन । ठुलो चिन्ता लागेर आउँछ । म मरेपछि आमा छोराको के गति होला? घर आँगनमा आएको सरकारले नि देखेन ।