• ४ जेठ २०८१, शुक्रबार

पशुपन्छीको अवैध आयात रोक्न पहल गर्छु : मन्त्री भुसाल

blog

अनुगमनका क्रममा पशु क्वारेन्टाईन कार्यालय वीरगञ्जका प्रमुख हरेराम यादवबाट जानकारी लिदै मन्त्री डा. बेदुराम भुसाल । तस्बिर : दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज,  चैत २४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सीमा क्षेत्रमा हुनेगरेको प्रतिबन्धित पशुपन्छी तथा पशुपन्छीजन्य सामग्रीको अवैध आयात रोक्न गृह मन्त्रालयसँग समन्वय गर्ने बताउनुभएको छ । 

पशु क्वारेनटाइन कार्यालय वीरगञ्जको कार्यालय निरीक्षण अनुगमन गरी कार्यालयका कर्मचारीहरूसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री डा. भुसालले वीरगञ्जको सिमानाका भएर हुनेगरेको पशुपन्छी तथा पशुपन्छीजन्य सामग्रीको अवैध आयात रोक्न आवश्यक रहेको बताउनुभयो ।

खुला सीमा र सहज आवत–जावतका कारण भारतीय सीमावर्ती सहरबाट पर्साको विभिन्न नाका भएर प्रतिबन्धित पशुपन्छीको अवैध आयात भइरहेको र त्यस्ता सामग्री बरामद गरी जफत गर्दै नष्ट गर्नेगरेको पशु क्वारेनटाइन कार्यालय वीरगञ्जका प्रमुख हरेराम यादवले मन्त्री भुसाललाई जानकारी गराउनुभयो । 

बाराको सिम्रौनगढ नगरपालिकाको कचोर्वामा आयोजित अखिल नेपाल राष्ट्रिय किसान महासङ्घको कार्यक्रममा सहभागी हुन आउनु भएका मन्त्री डा. भुसाल काठमाडौं फर्कनेक्रममा सिमरा विमानस्थल जानुअघि वीरगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जको निरीक्षण अनुगमन गर्नुभएको थियो । 

पशु क्वारेनटाइन कार्यालय वीरगञ्जका प्रमुख यादवले मन्त्री डा. भुसाललाई कार्यालयको निरीक्षण गराएको र कामकारबाहीको जानकारी गराएको बताउनुभयो ।