• १३ असोज २०८१, आइतबार

निर्देशन र घोषणाबाट शासकीय सुधार हुँदैन : सांसद थापा

blog

शुक्रबारको प्रतिनिधि सभाको विशेष समयमा आफ्नो धारणा राख्नुहुँदै सांसद गगनकुमार थापा । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, चैत २४ गते। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। 

शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन र घोषणा मात्रै गर्दै हिँड्नु भएको भन्दै यस्तो बताउनु भएको हो। उहाँले प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीलाई निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभयो। त्यस्तै सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि अलमल भइरहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री सबैभन्दा शक्तिशाली हो। सबैभन्दा जिम्मेवार पनि हो। सरकार भनेको एकप्रकारले प्रधानमन्त्री हो। अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा सुरु भयो। मेरो लक्ष्य प्रष्ट छ। यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो। जस भए पनि मेरो हो। अपजस भए पनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ। तर कताकता मैले प्रधानमन्त्रीज्यूको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु।’’

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाउनुभयो। उहाँले न्यूनतम कार्यक्रम संसदभित्रै प्रस्तुत हुनुपर्ने बताउनुभयो। संसद चलिरहेको बेलामा यस्ता कार्यक्रम संसदभित्रै प्रस्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। 

सांसद थापाले भन्नुभयो, ‘‘केही कुराहरु उठेका छन्। सदन चलिरहेका बेलामा सदनमै प्रस्तुत हुनुपथ्र्यो भनेर। म पनि त्यही भन्दछु। यद्यपी यो भनिरहँदा के पनि ख्याल गर्नुपर्छ भने केही समय पहिला पुष २५ गते सदन चलिरहेकै बेलामा बाहिर प्रस्तुत भयो। त्यो बेलामा प्रतिपक्ष दलको तर्फबाट हाम्रा केही साथीले गलत भयो भन्नुभयो। आज हामी सत्तापक्षमा छौँ। यसलाई सही नभनौँ। हिजो सत्तापक्षमा हुँदै गर्दा बाहिरकोलाई सही भनेको कुरालाई त्यो गलत थियो भनेर मनन गरौँ। यस्तो सदन चलिरहेको बेलामा यस्ता कार्यक्रम सदनमै प्रस्तुत हुने कुरालाई कम्तिमा एउटा परम्परा बनाऔँ भन्ने लाग्छ।’’

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताउनुभयो। अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीलाई थन्क्याउन लगिएको जस्तो भान हुने उहाँको भनाइ छ। उहाँले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो।