लक्ष्मण पौडेल
भैरहवा, चैत २४ गते । परामर्शदाताले निर्माण सुरु गर्नभन्दा पहिला नै दिएको सुझावलाई बेवास्ता गर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा करोडौँ रकम खर्चेर निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र चुहिएको छ । निर्माण सकिएर लुम्बिनी विकास कोषलाई हस्तान्तरण नहुँदै हल चुहिएपछि अहिले विकास कोषको चर्को आलोचना भइरहेको छ ।
हालैको वर्षापछि लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको छतका विभिन्न ठाउँबाट पानी चुहिएको थियो । आठ हजार तीन सय वर्गमिटर क्षेत्रमा फैलिएको ध्यान केन्द्रको मध्य, पश्चिम र पूर्वी भागबाट पानी चुहिएको थियो । पानी चुहिएपछि ध्यान केन्द्रको भुईँको अधिकांश ठाउँमा आहाल बनेको थियो । ध्यान केन्द्रको छत कोरियन प्रविधिको इपीएस सेन्डविज प्यानल प्रयोग गरेर छाता आकारमा बनाइएको छ ।
यो प्रविधिबाट मुलुकमै पहिलोपल्ट यति ठूलो सभाहल तथा ध्यानकेन्द्र निर्माण गरिएको हो । तर ध्यानकेन्द्र निर्माण गर्ने बेला परामर्शदाताले दिएको सुझावलाई बेवास्ता गर्दा समस्या आएको कोषका कर्मचारी बत्ताउँछन् । निर्माण सुरु गर्ने बेला परामर्शदाता ललितपुरको श्रेष्ठ कन्सल्टेन्टले पछि पानी चुहिने समस्या आउनसक्ने भन्दै वाटरप्रुफिङ गर्न सुझाएको थियो ।
“त्यसबेला परामर्शदाताको सुझाव टेरिएन, अहिले समस्या आयो”, कोषका एक अधिकृतले भन्नुभयो । उहाँले पानी चुहिनुमा ठेकेदारको भन्दा कोषको लापरबाही भएको आरोप लगाउनुभयो ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले तत्कालीन समयमा परामर्शदाताले सुझाव दिए पनि नयाँ प्रविधि भएकाले कोषको थोरै ध्यान पुग्न नसकेको बताउनुभयो । “नयाँ अनुभव हो यो, त्यसैले सबै कुरा जानकारी भएन”, उहाँले भन्नुभयो, “अब हामीले दीर्घकालीन समस्या समाधान गर्छौँ ।”
उहाँले कोषले वाटरप्रुफिङ विज्ञसहितको टोलीबाट अध्ययन गराएर समाधानको प्रयास सुरु गरेको बताउनुभयो । दुई चरणमा निर्माण गरिएको ध्यानकेन्द्रको पहिलो चरणको निर्माणको काम २०७४ चैत ६ गते सम्झौता गरी अनेक अर्घाखाँची बाबुल जेभी र दोस्रो चरणको काम लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले गरेको थियो । दुई चरणमा गरी करिब ६४ करोड लागमा ध्यानकेन्द्र निर्माण भएको हो ।
ठेकेदार कम्पनीका सन्तोष अधिकारीले भन्नुभयो, “हामीलाई डिजाइनमा जस्तो काम गर्न भनियो, उस्तै काम गर्यौ, यसमा हाम्रो दोष छैन । तर हामीले अहिले चुहिएको ठाउँको मर्मत सुरु गरेका छौँ ।”
विज्ञका अनुसार यस किसिमको ध्यानकेन्द्र बनाउँदा वाटरप्रुफिङ वा छतमा दुई तहको लेयर बनाएर निर्माण गर्नुपर्छ । तर विकास कोषले यी दुवै कुरामा ध्यान दिएन ।
“हामीले अध्ययन गर्दा वाटरप्रुफिङ र छतमा दुई लेयर बनाएको पाइएन”, ध्यान केन्द्रको अध्ययनमा आउनुभएका काठमाडौंका वाटरप्रुफिङ विज्ञ लक्ष्मीप्रसाद सुवेदीले भन्नुभयो, “त्यतिबेला के–कति कारणले ध्यान दिइएन जानकारी भएन तर यसको दीर्घकालीन समाधान भनेकै वाटरप्रुफिङ नै हो ।”
उहाँका अनुसार अहिलेको अवस्थामा ध्यानकेन्द्रको वाटरप्रुफिङ गर्न कम्तीमा पनि पाँच करोड रुपियाँ लाग्छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको ध्यान केन्द्रको एक वर्षअघि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । यो हल निर्माणका लागि लुम्बिनी गुरुयोजना समेत मिचिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएर यसको निर्माण सुरुवात गराउनुभएको थियो ।
पाँच हजार जना अटाउने छाता शैलीको ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको रहेको बताइएको थियो । भूकम्प र ठूलो हावाहुरीबाट जोगाउन ध्यान केन्द्रको छत बेरिङमार्फत् लचकदार बनाइएको छ । ठूलो हावा चल्दा वा पानी पर्दा छतमा लचकता आउँछ ।