• ११ मंसिर २०८१, मङ्गलबार

दिदीबहिनी मृत्युको अनुसन्धान सुरु

blog

रुकुमपूर्व समाचारदाता 

रुकुमपूर्व, चैत २४ गते । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३, रन्मामा दुई दिदीबहिनी बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । हेलिकोप्टरमार्फत बिहीबार दिउँसो नेपालगञ्जबाट तालिमप्राप्त कुकुर घटनास्थलमा पु-याएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । सडक सञ्जाल र फोन सेवाको पहुँचमा नभएको रन्मा गाउँमा घटना अनुसन्धान र सम्पर्क गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ । 

बुधबार साँझ दुई दिदीबहिनी सिस्नो टिप्न भनेर घरबाट निस्किएका थिए । तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालीमाया बुढामगर रहेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो । 

बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा बिहीबार बिहान गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुन सक्ने स्थानीयले आशङ्का गरेका छन् ।