• २७ वैशाख २०८२, शनिबार

सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

blog

शिकारी सरदार गुरुङ स्मृति प्रतिष्ठानको ज्ञापनपत्र बुझ्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २३ गते । अङ्ग्रेज फौजलाई विश्वमा पहिलो पटक पराजय गराएको सिन्धुलीगढी युद्धमा विशेष योगदान गरेका सिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । 

तनहुँको शुक्लागण्डकी नगरपालिका –१२, ढोर जस्पुरमा रहेका गुरुङका सन्ततिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज भेटगरी सो माग गरेका हुन् । सिकारी सरदार गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सिन्धुलीगढीको युद्धमा वीरतापूर्ण कदम चालेर नेपालको स्वाभिमान रक्षा गरेको भन्दै उहाँलाई उच्च सम्मान गर्न माग जिल्लावासीले गरेका हुन् । 

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ र बेलायत संयोजक लेख गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा इतिहासको कालखण्डमा नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीर योद्धाको राज्यले सम्मान गर्नुपर्ने माग गरिएको छ । 

प्रतिष्ठानले सिकारी सरदार गुरुङको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्नुपर्ने, इतिहासमा वीर योद्धाको भूमिकालाई उचित सम्मान गर्दै पुनर्लेखन गर्नुपर्ने र प्रतिष्ठानका लागि बजेट विनियोजन गर्नुपर्नेलगायत माग राखेका छन् ।  

सिन्धुलीगढीमा अंंग्रेजसँग १८२४ साल असोजमा भएको युद्धमा वीरता प्रदर्शन गरेर नेपाल भूमि जोगाउने काममा वंश गुरुङको अतुलनीय योगदान रहेको भन्दै प्रतिष्ठानका अध्यक्ष क्या. लालजंगले सरकारले उच्च सम्मान गरिनुपर्ने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलसँगै रहेका तनहुँ –१ का प्रतिनिधि सभा सांसद शङ्कर भण्डारीले सरकारले वंश गुरुङलाई उचित सम्मान गर्नुपर्ने र आफ्नो तर्फबाट निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारेमा थप अध्ययन गरी यथोचित निर्णय लिने बताउनुभयो । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, लेम तमू (लाम्छाने गुरुङ) समाजका अध्यक्ष क्या. ओम गुरुङ लगायतको उपस्थिति थियो ।