बिन्दु थापा
पाल्पा, चैत २३ गते । बचत गर्ने र बिनाधितो ऋण दिने भन्दै चर्को व्याज लिएर आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा ऋणीले अनसन थालेका छन् । पाल्पाका विभिन्न स्थानबाट भेला भएका पीडित नागरिकले लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुनुपर्ने माग गरेका हुन् ।
गरिब जनतालाई ब्याज अनुदानमा ऋण प्रदान गर्नुपर्ने, अहिलेसम्मको बचतको व्याजसहित ऋण चुक्ता गरिदिनुपर्ने लगायतका माग राखेर उहाँहरू अनिश्चितकालीन रिले अनसनमा उत्रनुभएको छ । ऋण लिँदा सस्तो ब्याजदर भन्ने र पछि ४२ प्रतिशतसम्म असुल्ने गरेको सङ्घर्ष समितिकी अध्यक्ष कृष्णमाया आलेले बताउनुभयो ।
‘हामीलाई बचत गर्न पठाउने हाम्रै पैसा लगानी गर्ने र हामीलाई नै फसाउने गरेका छन्’ उहाँले भन्नुभयो, ‘यो आन्दोलन त्यसै सकिने छैन ।’ पाल्पाका गाउँ र सहर बजारमा महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा पीडित बनाएको उहाँहरूको भनाइ छ । आन्दोलनमा उत्रिएसँगै मंगलबार जिल्ला प्रशासन कार्यालयमा ऋण मिनाहाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
साथै प्रशासन अगाडि धर्ना बसेर विरोध गर्दै अनसनमा बसेका छन् । आन्दोलनमा होमिनुभएकी तानसेन नगरपालिका २ की कुन्ता बस्यालले आफूले कुखुरापालन गर्न ऋण लिएको तर बैङ्कका कर्मचारीबाट गाली, दुर्व्यवहार गरेर मानसिक पीडा दिएको बताउनुभयो ।
माथागढी गाउँपालिका –२ रुप्सेका वीरबहादुर विकका अनुसार पाल्पाको निस्दी, माथागढी, तानसेन नगरपालिका, बगनासकाली, तिनाउलगायतका स्थानबाट लघुवित्तका ऋणी भेला भएर अनसन बसेका छन् । लघुवित्त वित्तीय संस्थाले ग्रामीण भेगमा गएर व्यापार व्यवसाय, उत्पादन र प्रवर्धनमा वार्षिक १५ प्रतिशत व्याजमा विनाधितो ऋण आश्वासन दिने र पछि विभिन्न बहानाबाजी गर्दै ३६ प्रतिशत लिनेगरेको गुनासो पीडितले गरेका छन् ।