• १२ मंसिर २०८१, बुधबार

एमालेलाई जनताको साथ छ : उपमहासचिव गुरुङ

blog

प्रचार भेलामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

जुम्ला, चैत २३ गते । नेकपा (एमाले) का उपमहासचिव  पृथ्वीसुब्बा गुरुङले नौ महिने नाकाबन्दीको डटेर सामना गरेकै कारण नेपाली जनताको पहिलो रोजाई एमाले बनेको बताउनुभएको छ । राष्ट्रियताको  रक्षा, अतिक्रमित भूमि फिर्ता गर्न प्रयास र पहल गरेकै कारण एमालेलाई घेराबन्दी पारिएको उहाँको भनाइ छ । 

एमाले जुम्लाले आयोजना गरेको ग्रासरुट कार्यक्रममा बिहीबार उपमहासचिव गुरुङले सो कुरा बताउनुभएको हो । भारतसँग टक्कर लिँदा परमादेश सरकार बनेको र एमालेविरुद्धको गठबन्धन बनेको उहाँले दाबी गर्नुभयो । सीमा रक्षाका लागि एमाले अध्यक्ष केपी शर्मा ओली सरकार कठोर बनेदेखि विदेशी शक्तिले नेपालमा चलखेल सुरु गरेको उहाँले बताउनुभयो । 

उपमहासचिव गुरुङले एमालेकै जोडमा नेपालको संविधान २०७२ जारी भएको प्रष्ट पार्नुभयो । एमालेले बहुमत जुटाएर  संविधान जारी गर्ने भनेपछि भारतप्रति बफादार दल पनि संविधान जारी गर्नमा सहमत भएको उहाँले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संविधान जारी गर्न अझ ढिला गर्नुपर्ने प्रस्ताव राख्नुभएको उहाँले दाबी गर्नुभयो । नेता गुरुङले एमाले कर्णाली प्रदेशस्तरीय प्रचार भेला तथा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको कार्यशालामा उहाँले सो कुरा बताउनुभयो । 

एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गोरख बोगटीले जित्ने मत हुँदा पनि पार्टीका उम्मेदवारलाई आग्रह पूर्वाग्रह राखेर हार्नुपरेको तितो अनुभवलाई समीक्षा गर्न र हस्तान्तरणको निष्पक्ष छानबिनका लागि मिसन ग्रासरूट अभियान सञ्चालन गरिएको बताउनुभयो ।

चुनावको समीक्षा राम्रोसँग गरेर सत्यतथ्य प्रतिवेदनका लागि प्रेस चौतारीलाई सहयोग गर्न निर्देशन दिनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री शिवमाया तुम्बाहाम्फेले जनतासँग निरन्तर जोडिन मिसन ग्रासरूट अभियान चलाइएको बताउनुभयो । प्रत्यक्षतर्फ एमाले पहिलो शक्ति बन्न नसके पनि समानुपातिकमा सर्वाधिक मत पाएको सबैका अगाडि प्रष्ट भएको उहाँले बताउनुभयो । 

एमाले प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले माओवादीले जनतालाई भ्रममा पारेर जित्ने दिन सकिएको बताउनुभयो । केन्द्रीय सदस्य  नगिन्द्र शाहीले पार्टीले आफ्नो भातृ सङ्गठन प्रेस चौतारीलाई सही तरिकाले परिचालन गर्न नसकेको बताउनुभयो । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले कर्णालीका नागरिकलाई आत्मनिर्भर बनाउन एमालेले जित्नुपर्ने बाध्यता भएको बताउनुभयो । 

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले काठमाडौं बसेर अब जिल्लाको नेता हुन नसकिने बताउनुभयो । जिल्ला नेता काठमाडौं बसेर अब जनताको नेता हुन नसक्ने उहाँको भनाइ छ ।