• १० मंसिर २०८१, सोमबार

आचारसंहिता उल्लङ्घन गर्ने कसैलाई आयोगले छोड्दैन : आयुक्त भण्डारी

blog

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ।

काठमाडौं, चैत २३ गते । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने जानकारी दिनुहुँदै आयुक्त भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले चैत २४ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्णय गरेको छ । यो निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रयोजनका लागि यदि आचारसंहिता उल्लङ्घन भएमा त्यसलाई कारबाही गर्ने, कारबाहीको विषय बनाउने विषयवस्तुसमेतलाई समेट्ने प्रयोजनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठक बस्यो र यो बैठकले यसका सबै सरोकारवाला पक्षहरू सबैलाई आचारसंहिता लागू हुन्छ ।’’

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुँदैछ । कतिपय आचारसंहिताको विषयवस्तु, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बारा, चितवन र तनहुँ यी तीन वटै जिल्लाभर आचारसंहिता लागू हुन्छ । कतिपय आचारसंहिताको विषयवस्तु, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुन्छ । त्यसैले सबैलाई समेटेर आचारसंहिता लागू गर्दै त्यो आचारसंहितालाई कडाइकासाथ कार्यान्वयन गर्ने प्रयोजनका लागि हामीले विभिन्न योजना तर्जुमा गरेका छौँ ।’’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता कडाइकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहिता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो । उहाँले आचारसंहिता उल्लङ्घनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन कर्ता सजायको भागिदार हुने बताउनुभयो ।