• १३ असोज २०८१, आइतबार

नदी प्रदूषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग

blog

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव ।

काठमाडौं, चैत २३ गते । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्न माग गर्नुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरू सञ्चालनमा रहेका र ती उद्योगबाट निस्किने रासायनिक पानी सिँधै नदीमा मिसाउँदा नदी प्रदूषित भएको बताउनुभयो । उहाँले नदी प्रदूषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरूलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिर्सिया नदीको छेउमा उद्योग तथा कलकारखानाहरू छन् । तर प्रदूषण र विषालु पानी फाल्ने छाला उद्योगको डिस्टिलरी उद्योग, आइरन उद्योग, टेस्टाइल उद्योग, घिउ, उद्योग, साबुन उद्योग, कार्टुन उद्योग, कागज उद्योग, सलाई उद्योग र राँगा काट्ने उद्योगहरू छन् । यी उद्योगहरूबाट निस्किने रसायनयुक्त पानी प्रशोधन नगरी सिँधै नदीमा फाल्ने गर्दछन् । यसरी खेलबाड गर्ने उद्योगलाई अहिलेसम्म कारबाही हुँदैन ।’’

सांसद यादवले उद्योगीहरूले बदमासी गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मूकदर्शक भएको आरोप लगाउनु भयो ।

सांसद यादवले भन्नुभयो, ‘‘सरकारको आँखामा पट्टी बाँधिएको छ । सरकारलाई थाहा छ उद्योगीहरू बदमासी गरिरहेको छ । उद्योगीहरू नियम मिचिरहेको छ । नियमबाहिर प्रशोधन नगरीकन पानी नदीमा फालिरहेको छ । तर सरकार मूकदर्शक भएको छ । त्यहाँको सिडिओले भन्छ, हामीले आदेश पाएमा २४ घण्टामा नियन्त्रण गर्छौ । तर आदेश कर्ता को हो ? कहाँ गएको छ ?’’