जनार्जन खत्री
सर्लाही, चैत २३ गते । सर्लाहीको बागमती नगरपालिका –११, कर्मैयामा बस्ती नजिकको वनमा लागेको डढेलो स्थानीय र नेपाली सेना लागेर नियन्त्रणमा लिएका छन् । चुरेपाखास्थित पशुपति सामुदायिक वन समूह कर्मैयामा लागेको डढेलो बिहीबार बिहान स्थानीय र भैरवी दल गण पाँचकुमारी ब्यारेकबाट खटिएको सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।
पशुपति सामुदायिक वनका अध्यक्ष बद्रीकुमार खड्का, हरिहर सामुदायिक वनका अध्यक्ष भीमसेन थापा, समाजसेवी पूर्णबहादुर पाण्डेसहितको नेतृत्वमा खटिएका आफूहरु र नेपाली सेनाका सेनानी उमेश राईको नेतृत्वमा खटिएको नेपाली सेनाको संयुक्त टोली भएर डढेलो निभाएको स्थानीय प्रकाश केसीले जानकारी दिनुभयो ।
सामुदायिक वनसँगै जोडिएका गाउँबस्ती र अन्य संरचनामा नोक्सानी हुने देखिएपछि सेनासँग समन्वय गरी डढेलो निभाउने काम गरिएको केसीले बताउनुभयो । सुक्खापन बढ्दै जाँदा सर्लाहीको विभिन्न वन क्षेत्रमा अहिले फेरि डढेलो लाग्न थालेको छ ।
डढेलोले वनका साना रुख विरुवा जलेर नष्ट भइरहेका छन् । दुई पटक वर्षा हुँदा यहाँका वन क्षेत्रमा लागेको डढेलो निभे पनि अहिले चर्को घाम लागेर हावाहुरी चल्न थालेपछि पुनः सुक्खा बढी वन क्षेत्रमा तेस्रो पटक डढेलो सल्किएको हो ।
वन कार्यालयका कर्मचारीले केही स्थानमा लागेको डढेलो निभाए पनि अधिकांश स्थानमा लागेको डढेलोले वन क्षेत्र सखाप पारिरहेको छ । वन छेउछाउका स्थानीय र गोठालाले वनमा डढेलो लगाइदिँदा निभाउन चुनौती हुँदैआएको छ । डढेलोले चुरेपाखाका विकट बस्तीमा दर्जनौँ घर जोखिममा परेका छन् भने वन्यजन्तु सुरक्षित स्थानको खोजीमा किसानको खेतबारीमा पस्न थालेका छन् ।