• १३ मंसिर २०८१, बिहिबार

अन्योलमा रत्नज्योति बजार

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत २१ गते । रामेछापको उमाकुण्ड गाउँपालिका–२, बाम्तीभण्डारमा रहेको रत्नज्योति बजारको भविष्य अन्योलमा छ। 

सिद्धेश्वर माध्यमिक विद्यालयको भोगाधिकार भएको जग्गामा विस्तार भएको यो बजार उठाउने वा व्यवस्थित गर्ने ठोस निर्णय हुन नसक्दा अन्योल सिर्जना भएको हो। रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको समेत केही क्षेत्रको बजार केन्द्रका रूपमा विकास भएको रत्नज्योति बजार २०६१ मा विस्तार भएको हो। 

विद्यालयलाई दिइएको भोगाधिकारको दुरुपयोग भएको भन्दै २०७८ भदौ १ गते राष्ट्रिय सतर्कता केन्द्रले रत्नज्योति बजारमा बनेका व्यक्तिगत घरटहरा हटाउन गाउँपालिकालाई निर्देशन दिएको थियो तर २०७८ असोज ९ गते बसेको उमाकुण्ड गाउँपालिकाको कार्यपालिका बैठकले रत्नज्योति बजारमा हजारौँ व्यक्तिले व्यापार व्यवसायसँगै अन्य काम गरी जीविकोपार्जन गरिरहेकाले वैकल्पिक व्यवस्था नगरी घरटहरा हटाउन नसकिने जानकारी राष्ट्रिय सतर्कता केन्द्रलाई पठाएको थियो। भदौ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बाम्ती गाविससँग गाविसको निर्णय र निर्णयमा हस्ताक्षर गर्ने पदाधिकारी कर्मचारीको विवरण, जग्गा उपभोग गर्ने व्यक्तिसँग भएको सम्झौतापत्र र विद्यालयले गरेको निर्णय र हस्ताक्षर गर्ने पदाधिकारी कर्मचारीको विवरणसमेत माग गरेको थियो। 

लामो समयदेखि बसेको बजार उठाउनेबारे पटक–पटक निर्देशन तथा परिपत्र आउन थालेपछि रत्नज्योति बजारवासी अन्योलमा परेका हुन्। २०६१ देखि यहाँ व्यवसाय गरिरहेका व्यवसायी तथा अरू व्यक्ति जस्तोसुकै सर्त मान्न तयार भए पनि बजार नछाड्ने अडानमा रहेको स्थानीय चूडामणि श्रेष्ठले बताउनुभयो। “तत्कालीन समयमा सम्बन्धित निकायसँगको सम्झौता र सर्तअनुसारको पैसा तिरेर बजारमा घर बनाएका हौँ, ठूलो लगानी गरेर व्यवसाय चलाएका छौँ, अहिले आएर बजार उठाउने कुरा आएका छन्, बजार व्यवस्थापनका लागि सरकारले गर्ने सबै निर्णय मान्न तयार छौँ तर बजार छाड्दैनौँ,” उहाँले भन्नुभयो। 

यो बजार बसेको जग्गा २०४५ मा नै सरकारले तत्कालीन गाविसको स्वामित्वमा रहने गरी सिद्धेश्वर माविलाई भोगचलन गर्ने गरी दिएको थियो। स्थानीय राजनीतिक दलसमेतको रोहबरमा माओवादीले २०६१ मा ५४ रोपनी क्षेत्रफलमा सात मिटर लम्बाइ र छ मिटर चौडाइ भएको १५४ वटा घडेरी मासिक सय रुपियाँ भाडा उठाउने गरी वितरण गरेको थियो। त्यस समयमा रत्नज्योति बजारमा रहेका घरबाट १४ हजार पाँच सय रुपियाँ भाडा उठ्ने गरेको थियो। २०६३ मा माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएर शान्ति सम्झौता भएपछि बजारवासीले सम्झौताअनुसार भाडा तिरेनन्। २०६७ मा गाविस र विद्यालयको निर्णयअनुसार मासिक १४ हजार रुपियाँ ब्याजबाट उठ्ने गरी बजारवासीले १३ लाख ७५ हजार रुपियाँ सङ्कलन गरेर नवबाम्तीभण्डार बहुउद्देश्यीय सहकारी संस्थामा मुद्दती खाता खोलेर जम्मा गरिदिएका थिए। त्यस समयमा गाविस, सिद्धेश्वर मावि र बजारवासीबीच कुनै पनि रकम तिर्नु नपर्ने भनेर सम्झौता भएको थियो। 

अहिले सिद्धेश्वर माविले १४ हजार रुपियाँ ब्याज उठ्ने गरी बजारवासीले १३ लाख ७५ हजार रुपियाँ सङ्कलन गरेर सहकारी संस्थामा जम्मा गरिदिएको माउ रकम नै निकालिसकेको बजारवासीको आरोप छ तर विद्यालयले भने उक्त रकम सबै नचलाएको जनाएको छ। विद्यालयका प्रधानाध्यापक निर्मल त्रिपाठीले विद्यालयको भवन निर्माणका क्रममा बजेट अभाव भएपछि चलाइएको र अब सहकारीको खातामा उक्त रकममध्ये छ लाख रुपियाँ रहेको बताउनुभयो। 

व्यापारिक केन्द्रका रूपमा विकास भइसकेको यो बजारमा कैयौँले व्यापार, व्यवसाय र कतिले अन्य काम गरी जीविकोपार्जन गरिरहेकाले बजार उठाउन नसकिने उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो। “बजारमा रहेको बस्ती उठाउने अवस्था छैन र बस्ती उठाउन नसक्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी पनि गराइसकेका छौँ,” उहाँले भन्नुभयो।