• १३ मंसिर २०८१, बिहिबार

खानीले जीवन चल्छ ज्यान पनि लिन्छ

blog

लीलाधर वली 

घोराही, चैत २१ गते । घोराही उपमहानगरपालिका–१३, शङ्खेरी निवासी आशिष बुढामगर कोइलाखानीको सुरुङभित्र काम गर्न थालेको १३ वर्षभन्दा बढी समय भइसकेको छ। पहाडका बीचमा खनिएका सुरुङको अँध्यारोभित्र पसेर हरेक दिन कोइला खन्ने र निकाल्ने काममै उहाँको दैनिकी बित्ने गरेको छ। चार सयदेखि छ सय मिटरसम्म लम्बाइ रहेका सुरुङभित्र पसेर श्रम गर्ने उहाँको दैनिकीजस्तै बनेको छ। यही पेसाबाट आएको आम्दानीले घर व्यवहार गुजारा चलाउने गरेको उहाँले बताउनुभयो। 

खानीभित्र पसेर कोइला खन्ने काम सहज नभए पनि दैनिक गुजारा चलाउनैका लागि जोखिमपूर्ण काम गर्नुपर्ने भएको उहाँले बताउनुभयो।  उहाँले भन्नुभयो, “गैती र हतौडाका भरमा सुरुङभित्र छिरेर ढुङ्गालाई पन्छाउँदै कोइला निकाल्नुपर्छ। सुरुङभित्रको अँध्यारोमा निकै जोखिम मोलेर काम गर्नुपर्छ तर जसरी काम गर्नुपर्छ, त्योअनुसारको कमाइ भने हुँदैन।” उहाँका अनुसार सुरुङभित्रको बाटो साँघुरो, उकालो र ओरालोमा टर्चलाइट बालेर कोइला खन्नु पर्दा शरीर निकै दुख्ने गर्छ।  कोइलाखानीमा काम गर्नु जोखिमपूर्ण छ भन्ने कुरा थाहा भए पनि घरपरिवारका लागि खर्च जुटाउन काम गर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ। 

खानीभित्र पर्याप्त अक्सिजन नहुने र हावापानी भित्र नपस्ने समस्याले गर्दा सुरुङभित्र लामो हतौडा र गैती चलाउने काम गर्दा उकुसमुकुस हुनुका साथै छिट्टै थकान लाग्ने गरेको घोराही उपमहानगरपालिका–१९, राम्चेका सङ्गीत गुरुङ बताउनुहुन्छ। कोइला खोज्दै, खन्दाखन्दै कतिबेला सुरुङ भत्किन्छ भन्ने त्रास भइरहन्छ। सुरुङभित्र कहिलेकाहीँ भत्किने वा ढुङ्गा खस्ने समस्या हुने भएकाले मजदुरहरूले सावधानी अपनाएर काम गर्नुपर्ने अवस्था रहेको गुरुङ बताउनुहुन्छ। जोखिमपूर्ण काम भए पनि दैनिक एक हजार तीन सय रुपियाँदेखि एक हजार पाँच सय रुपियाँसम्म कमाइ हुने गरेको छ।  

कोइलाखानी मजदुरका अनुसार कम्पनीले काम गर्दा लगाउने सुरक्षा सामग्री दिने गरेको छैन। अर्का मजदुर नरेन्द्र रानामगरले भन्नुभयो, सुरुङभित्र मजदुरहरू पस्ने र फर्कने मूल बाटो एउटा मात्र हुन्छ। कहीँ कतै बाटो माटोले पुरियो वा ढुङ्गा खसेर मूल बाटो बन्द भए हामी मजुदरको जीवनको बाँकी बाटो पनि बन्द हुने खतरा भइरहन्छ। घोराही उपमहानगरपालिका–१२ निवासी रानामगरले भन्नुभयो,  “जोखिमपूर्ण काम भए पनि घरपरिवार पाल्नका लागि विगत १४/१५ वर्षदेखि काम गर्दै आएका छौँ।”

दाङ जिल्लाको उत्तरी क्षेत्रमा अग्गा अग्ला पहाडले घोराही उपमहानगरपालिका वडा नं. १९ का राम्चे, तिर्साङ, तोस, सैघा, बोल्दी, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामिरे, भुल्केलगायत वडा नं. १२ र १३ का स्थानीयका लागि समेत रोजगारीको अवसर प्रदान गर्दै आएको छ। 

२०५२ सालदेखि उत्खनन सुरु गरिएका यी पहाडमा अहिले १२ ठाउँबाट कोइला उत्खनन भइरहेका छन्। वडा नं. १९ को तोस र राम्चेमा रहेका कोइलाखानी सबैभन्दा पुराना र गहिरा खानी रहेका छन्। कोइलाखानीमा काम गर्ने अधिकांश स्थानीय र केही रोल्पाको सीमा क्षेत्रका मजदुर छन्। गाउँका स्थानीय पुरुषदेखि महिला र बालबालिकाले कोइलाखानीमा काम गर्ने गरेको वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले बताउनुभयो।