बिन्दु थापा
तानसेन, चैत २० गते । जिल्लाको तानसेन नगरपालिका भित्र सहकारी संस्थामा ७१ प्रतिशत कर्मचारी महिला रहेका छन् । तानसेन नगरपालिका भित्र रहेका ५३ सहकारीको सञ्चालकमा पुरुषको बाहुल्यता भए पनि रोजगार पाउनेमा महिला कर्मचारी बढी रहेको तानसेन नगरपालिकाका सहकारी प्रमुख दुर्गा थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “रोजगार गर्नेमा पुरुषभन्दा महिला बढी छन् । यसले घरव्यवहार चलाउन पनि सहज बनेको छ, त्यसमा अधिकांश विपन्न परिवारका छन् । सर्वसाधारण रोजगार गरेर सहज जीवनयापन गरिरहेका छन् ।” महिलाले चलाएका सहकारी ९ र पुरुषले सञ्चालन गरेका ४४ गरी ५३ सहकारी तानसेन नगरपालिका मातहतमा छन् ।
ती सहकारीहरुमा १५ हजार २ सय ९१ महिला सेयर सदस्य छन् भने ११ हजार ७ सय ४ पुरुष छन् । यस्तै सञ्चालक समितिमा १५५ महिला र २५५ पुरुष छन् । २० करोड ९४ लाख २६ हजार ६ सय ९४ रुपियाँ सेयर रकम छ । कृषि सहकारी ११, दुग्ध सहकारी ३, कफि उत्पादक २, बचत तथा क्रण सहकारी १७, बहुउद्देश्यीय १६, अदुवा १ र अन्य ३ सहकारी छन् । सहकारीबाट झन्डै पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले सहकारीबाट ऋण लिँदा प्रगति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारीले विपन्न वर्गका जीवन फेरिनुको साथै आत्मनिर्भर बन्न मद्दत गरेको छ ।’
तानसेन नगरपालिकाका प्रमुख सन्तोललाल श्रेष्ठले सहकारीमा अहिले केही समस्या देखिए पनि सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । सहकारीले धेरैलाई रोजगारी दिएकाले यसको सही व्यवस्थापनको खाँचो रहेको उहाँको भनाइ छ ।
‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ नामक सरकारी नारा सार्थक बन्दैगएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीले आफनो पहुँच बढाउँदै गएमा गाउँमा फस्टाएको बिनाधितो ऋण प्रवाह गर्ने विभिन्न लघुवित्त विकास बैंकहरू ओझेलमा पर्दैजाने र ती बैंकमार्फत कारोबार गर्दा चर्को ब्याज दिनुपर्ने भएपछि सर्वसाधारण त्रसित भएका छन् ।”
तानसेन नगरपालिकाकी जमुना पाण्डेले केही वर्षअघि रोजगारको खोजीमा भौंतारिँदै नगरपालिकाको सहयोगमा सहकारीबाट १५ हजार ऋण लिएर कस्मेटिक तथा फेन्सी सामानको व्यापार सुरु गरेको बताउनुभयो । उहाले भन्नुभयो, “अहिले सुखी जीवन बिताइरहेकी छु । सहकारीले गर्दा जीवन सुध्रेको छ ।”