• १५ चैत २०८०, बिहिबार

पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो

blog

रेखीराम राना

पाल्पा, चैत १९ गते । जिल्लामा चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । माथा गढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो । 

सबैभन्दा पहिले माथा गढी गाउँपालिकाको वडा नं. ५ को जगात र वडा नं. ६ को हात्तीलुङ् गण बाँस, दमार, माथालगायतका गाउँमा यो रोग फैलिएको हो । ती स्थानका अधिकांश गाई, भैँसी तथा गोरु र बाच्छा बाच्छीमा यो रोगको सङ्क्रमण फैलिएको पालिकाका पशु प्राविधिक विक्रम गरम्जाले जानकारी दिनुभयो । रोग फैलिएपछि ती स्थानमा किसानमा जनचेतना फैलाइने तथा आवश्यक सुझाव दिने कार्य भइरहेको गरम्जाले बताउनुभयो । हालसम्म माथागढीका पाँच-सात वटा गाउँमा लम्पी स्किन रोग फैलिए पनि पशुको मृत्यु भने नभएको पालिकाले जनाएको छ । 

लम्पी स्किन रोग पाल्पामा पहिलो पटक देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । पशुमा लम्पी स्किन रोगको लक्षण देखारेपछि परीक्षणका लागि काठमाडौँको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । माथा गढीको नमुना परीक्षणमा लम्पी स्किनको भाइरस देखापरेको विज्ञ केन्द्र पाल्पाका निमित्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । 

विगतका वर्षमा देशको अन्य जिल्लामा यो रोग देखा परेको थियो । पाल्पामा भने पहिलो पटक देखापरेको खनालले जानकारी दिनुभयो । नयाँ रोगका रूपमा फेला परेको यो रोग भाइरस मार्फत सर्छ । यसको औषधि र उपचार हालसम्म पत्ता नलागेको पशु प्राविधिक बताउँछन् । अन्य भाइरल रोगहरूमा जस्तै वैकल्पिक औषधिमार्फत उपचार गरिएको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले जानकारी दिनुभएको छ । यो रोगको सङ्क्रमण फैलिएको गाई, गोरु, भैँसीको विभिन्न भागमा  गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निने, उत्पादनमा कमी आउने जस्ता लक्षणहरू देखिने पशु चिकित्सक नवीन बस्यालले बताउनुभयो । यो रोग क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने उहाँले बताउनुभयो । 

यो पनि पढ्नुहोस

पशुमा लम्पी स्किन सङ्क्रमण

यो रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने, अन्य बस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने चिकित्सक बस्यालले बताउनुभयो । जिल्लाको माथा गढीमा मात्र होइन, तिनाउ, निस्दी गाउँपालिकाका किसानले पालेका पशुहरूमा पनि लम्पी स्किन रोगका लक्षण देखिएको कार्यालयले जनाएको छ । यद्यपि ती स्थानको भने परीक्षण हुन बाँकी रहेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यो रोगको सङ्क्रमणबाट पशुको मृत्यु बढी नभए पनि उत्पादनमा भने ५० प्रतिशतले ह्रास आउने बताइएको छ ।