अमरराज नहर्की
तनहुँ, असोज १७ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । आइतबार कार्यालय स्थापना कार्यक्रमगरी जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र तोकिएको तनहुँमा जिल्ला न्यायाधीश दलबहादुर केसीलाई तोकिएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदैआएकाले व्यास नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमै हुनेगरी निर्वाचन क्षेत्र २ का लागि शुक्लागण्डकी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतका रूपमा शनिबार शुक्लागण्डकीका नगरप्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालको उपस्थितिमा स्थापना गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन कार्यालय स्थापना गरिएको र मनोनयनपत्र दर्ता र मतगणनाको काम पनि सम्बन्धित निर्वाचन कार्यालयमै हुने जानकारी दिनुभयो । जिल्लामा २ लाख ४८ हजार ४९५ जना मतदाता रहेका छन् ।
स्थानीय तह निर्वाचनपछि जिल्लामा ४ हजार १५५ मतदाता थपिएको उहाँले बताउनुभयो । तनहुँमा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।