गोरखापत्र अनलाइन
काठमाडौं, चैत १८ गते । नेकपा (एमाले) ले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय संवाद टोली गठन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो संवाद टोली गठन गरेको हो ।
पूर्व उपाध्यक्ष रावल पछिल्लो समय पार्टी गतिविधिबाट असन्तुष्ट रहँदै पार्टीको विधि र विधान विपरीत गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय संवाद टोली गठन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । टोलीमा पार्टी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहनु भएको छ ।
नेता रावलसँग संवादपछि उहाँ सच्चिएर आएमा उचित जिम्मेवारी दिइने एमालेले जनाएको छ । यद्यपि नेता रावलले आफू पार्टीको हितमै काम गरिरहेको दाबी गर्दैआउनुभएको छ । नेता रावल पार्टीको हित विपरीत कदम चालेकाले संवादगरी आवश्यक निर्णय लिन संवाद टोली गठन गर्नुपरेको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।
नेता रावलले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरूको गुनासो आएपछि एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली नै गठन गरेको जनाएको छ ।
संवाद गर्न तयार छु : नेता रावल
पार्टीले मसँग संवाद गर्न तीन सदस्यीय संवाद टोली गठन गरेको समाचार सञ्चार माध्यमबाट पढेँ । पार्टीले गठन गरेको संवाद टोलीबारे आफू सकारात्मक भएको उहाँले बताउनुभयो । यद्यपि पार्टीले औपचारिक रूपमा आफूलाई त्यसबारे जानकारी गराएपछि के गर्ने बारेमा निर्णय लिने उहाँले गोरखापत्रलाई बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको हितमा अहिलेसम्म गतिविधि गर्दैआएको छु, पार्टी विधानअनुरुप अघि बढोस्, विधिअनुसार चलोस् भन्ने मेरो मान्यता हो ।”
पार्टी निर्माणमा आफ्नो जीवन लगानी भएको बताउनुहुँदै नेता रावलले संवादमार्फत समस्या समाधान गर्नमा आफू जहिले तयार रहेको बताउनुभयो । आफूविरुद्ध केही व्यक्तिहरूले अनेक आरोप, लाञ्छना लगाउने गरे पनि आफूले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताउनुभयो । पार्टीको हित विपरीत काम आफूले नगरेको उहाँले दाबी गर्नुभयो । पार्टीले निर्णय गरेको हो भने औपचारिक जानकारी गराउला, त्यसपछि संवादबाटै समस्या समाधान होला उहाँले भन्नुभयो ।