• ११ मंसिर २०८१, मङ्गलबार

एमालेद्वारा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

blog

नेपालगञ्ज २३ मा आयोजित स्वास्थ्य शिविरमा उपस्थित स्थानीय बासिन्दा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत १८ गते । नेकपा (एमाले) बाँकेको आयोजनामा नेपालगञ्ज उप–महानगरपालिका वडा २३ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । एमालेले देशव्यापी रूपमा सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तर्गत नेपालगञ्जको विकट वडाको रूपमा रहेको सो वडामा छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । 

“ग्रासरुट अभियानमा टोलटोलमा पुग्दा धेरैमा छाला रोगको समस्या देखियो” एमाले बाँकेका अध्यक्ष कक्षपतिले भन्नुभयो, “राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घसहित चिकित्सक र स्वास्थ्यकर्मीको समन्वय र सहयोगमा पार्टीले शिविर सञ्चालन गरेको छ ।”

नेपालगञ्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षितगरी शिविर सञ्चालन गरिएको एमाले बाँकेले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै वडा भए पनि यी वडामा स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । 

स्वास्थ्य शिविरमा आएका स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षणसहित आवश्यक औषधि समेत उपलब्ध गराइएको एमाले बाँकेले जनाएको छ । गाउँटोलमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाले सहजता भएको बताएका छन् । 

भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा. अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेकाजस्ता समस्या देखिएका थिए । शिविरमा १८० जनाको स्वास्थ्य परीक्षण भएको छ ।